भद्रपुर/कोही पनि विद्यार्थीले उच्चशिक्षाको लागि विद्यालय जानबाट बञ्चित हुन नपरोस् भनेर झापा गाउँपालिकाले ३ सय ४३ विद्यार्थीलाई साइकल वितरण गरेको छ ।

कक्षा ९ मा अध्ययनरत डिल्लीराज मा.वि.का १ सय ३५, जनता मा.वि.का १ सय ३१, जनकल्याण मा.वि.का ३५, कुवाडी मा.वि.का २८ र महेन्द्र मा.वि.का २४ विद्यार्थीलाई साइकल वितरण गरिएको हो । गाउँपालिकाले आइतबार पालिका भवनमा आयोजना गरेको एक कार्यक्रमबीच विद्यार्थीहरूलाई साइकल वितरण गरेको छ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को शिक्षामा विनियोजन गरिएको बजेटमार्फत् टेन्डर प्रक्रियाबाट २९ लाख रुपैयाँमा ३ सय ९४ साइकल खरिद गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले जानकारी दिइन्। पालिकाका पाँच माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई साइकल उपलब्ध गराएको उनले बताइन् ।

शिक्षा , स्वास्थ्यजस्ता विषयलाई निरन्तरता दिने बताउँदै थपलियाले शिक्षामा सुधार ल्याउन कक्षा ८ देखि १० सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क कोचिङको समेत व्यवस्था गर्न लागेको बताइन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शिक्षामा ३ करोडभन्दा बढी गाउँपालिकाले लगानी गरेको बताए।

कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष सखीचन्द्र मण्डल, शिक्षा समिति सदस्य सुन्दरलाल गणेश, शिक्षक महासङ्घका टीकाप्रसाद कट्टेललगायतले मन्तव्य राखेका थिए। शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । बहुसङ्ख्यक मुस्लिम, आदिवासी, विपन्न परिवारको बसोबास रहेको गाउँपालिकामा १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिसमेत दिँदै आएको जनाइएको  छ ।