विजयपुर । मन्दिरको जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल भएको पाइएको छ । धरान–१४ दुई धारेदेखि दक्षिणतर्फ रहेको नरसिंह भगवान् मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल भएको नरसिंह भगवान संरक्षण समितिका अध्यक्ष टोमप्रसाद आचार्यले बताए ।

धरानका आचार्य परिवारले मन्दिरलाई दानमा दिएको हाल धरान–६ पानबारीमा ७ कठ्ठा १० धुर जग्गा छ । उक्त जग्गा व्यक्तिले आफ्नो नाममा दर्ता गराउन मालपोत कार्यालय धरान सुनसरीमा निवेदन दिइसकेको छ । गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता गर्न दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरेको थियो । सूचना प्रकाशित भएपश्चात् धरान–६ का लालबहादुर थापा मगरले जग्गा आफ्नो भएको भन्दै मालपोत कार्यालय धरानमा निवेदन दिएका छन् । मगरले निवेदन दिएपश्चात् साविक बाँझगरा वडा नं. ३ क कित्ता नं. १२५ को ७ कठ्ठा १० धुर जग्गामा लालबहादुर थापा मगरले दाबी गरेको भन्दै ३५ दिने सार्वजनिक सूचना मालपोत कार्यालयले प्रकाशित गरेको थियो । त्यसपश्चात् मालपोत कार्यालयले सूचना प्रकाशित गरेपछि आफूले पनि जग्गाको दाबी गरेको अध्यक्ष टोमप्रसाद आचार्यले बताए ।

उनले भने, ‘वर्षांैअघि हाम्रो बाबु बाजेले नरसिंह भगवान्लाई दान दिएको जग्गा अहिले व्यक्ति–व्यक्ति मिलेर खान खोजिरहेका छन् । हामी त्यसो हुन दिँदैनौँ ।’ उनले वर्षाैंदेखि मन्दिरले नै त्यस जग्गाको कुतसमेत बुझिरहेको बताउँदै भने, ‘उक्त कुतबाट मन्दिरको पुजारीको भत्ता दिइरहेका छौँ । अन्य कुनै व्यक्तिको जग्गा हुन्थ्यो भने अहिलेसम्म दाबी गर्न किन कोही आएन ?’ नापी कार्यालयको फिल्डबुकमा कित्ता नं. १२५ को जग्गाधनी कैफियतको महलमा जग्गाधनी ‘लालबहादुर’ मात्रै लेखिएको छ । तर, यसलाई प्रमाणित गर्न धरान वडा नं. ६ ले ‘लालबहादुर थापा मगर’ र ‘लालबहादुर’ एकै व्यक्ति भएको भनी प्रमाणितसमेत गरिदिएको छ । यता धरान–८ की लक्ष्मीदेवी मगर्नीले समेत उक्त जग्गा आफ्नो बाजे लालबहादुर मगरको भएको दाबी गर्दै निवेदन दिएकी छन् । उनले २०७५ पुष १३ गते नै धरान ८ को वडा कार्यालयबाट सर्जमिन गर्दै आफ्नो बाजे लालबहादुर  भएको दाबी गरेकी छन् । नरसिंह भगवानको मन्दिरले जग्गाको वर्षांैदेखि कुत बुझिरहेको प्रमाण पनि कार्यालयमा पेश गरिएको छ ।

जग्गाका मोही भक्तबहादुरका अनुसार २०४८ सालदेखि जोतभोग गरिरहेका छन् । उनले मन्दिरका पूजारीलाई वार्षिक ५ हजार रुपैयाँ कुत बुझाएको बताएका छन् । उनले भने, ‘मैले २०४८ सालदेखि जग्गा कमाइरहेको छु । वर्षको ५ हजार मन्दिरको पुजारीलाई दिइरहेको छु ।’ मालपोत कार्यालय धरानका प्रमुख राजेशप्रसाद पोखरेलले तीन जनाको दाबी आएको बताए । उनले भने, ‘आवश्यक प्रमाण हेरेर, छानबिन गरेपछि  निर्णय हुन्छ ।’ उनले मालपोत कार्यालयमा निष्कर्ष ननिस्किए अदालती प्रक्रियामा जाने उनले बताए ।

बाटो दिएबापत मन्दिरलाई ६ लाख
जग्गानजिक २०७५ सालमा बाटो खोलिएको छ । त्यो बाटोको नाम नरसिंह पथ नै राखिएको छ । जग्गाको कारोबार गर्नेहरूले अन्य जग्गा प्लटिङ गर्र्न बाटो खोल्दा नरसिंह भगवान मन्दिरको करिब १० धुर जग्गा बाटोमा परेको थियो । उक्त जग्गाबापत अरुण फाइनान्समा रहेको नरसिंह भगवान संरक्षण समिति धरानको खातामा घरजग्गा कारोबारी अर्जुनकुमार लिङ्थेपले ६ लाख रुपैयाँ डिपोजिट गरिदिएको भौचरबाट देखिन्छ । लिङ्थेपले २०७५ सालमा जग्गा प्लटिङ गर्दा बाटो निकाल्नु पर्ने भएको बताउँदै भने, ‘बाटो खोल्न जग्गावाला खोज्दै जाँदा मन्दिरको जग्गा भन्ने पत्ता लाग्यो । मन्दिरको समितिसँग सल्लाह गरेर पैसा जम्मा दिएको हो ।’

वडाको झुटो सर्जिमिन
धरान ६ नं. वडा कार्यालयले जग्गाको सम्बन्धमा झुठा सर्जमिन गरेकोसमेत मन्दिर संरक्षण समितिले दाबी गरेको छ । मन्दिरले आफ्नो दाबी गरेको जग्गा भक्तबहादुर मगरले जोतभोग गरिरहेका छन् । मगरले बाजेका पालादेखि नै जग्गा जोतभोग गरिरहेको बताए । 

तर, वडा कार्यालयले गरेको सर्जमिनमा लालबहादुर थापा मगरले जोतभोग गरिरहेको उल्लेख गरिएको छ । यस विषयमा धरान–६ का वडाध्यक्ष भूपेन्द्र भट्टराईले सोही स्थानका छिमेकी रहेका पूर्व जनप्रतिनिधि पदमबहादुर कार्कीले पनि उक्त जग्गामा लालबहादुरको जोतभोग गरेको बताएकाले सर्जमिन गरेको बताए ।