खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको  फाइनल खेल आज भइरहेको छ। 

गाउँपालिकाको मुख्य प्रायोजनमा यही वैशाख २६ गतेदेखि सुरूभएको अन्तरपालिकास्तरीय महिला–पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ केपिसगढी गाउँपालिका बाक्सिला र आमचोक गाउँपालिका भोजपुर तथा पुरुषतर्फ षडानन्द नगरपालिका भोजपुर र दमक नगरपालिकाबीच खेल भइरहेका हुन्। 

महिलातर्फ केपिसगढी गाउँपालिका बाक्सिला र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कबीच शनिबार भएको पहिलो खेलमा २५–१२ र २५–१२ मा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कलाई हराउँदै केपिसगढी गाउँपालिका बाक्सिला फाइनल प्रवेश गरेको थियो भने आमचोक गाउँपालिका र आयोजक ऐसेलुखर्क गाउँपालिकाबीच भएको दोस्रो खेलमा आयोजकलाई २५–१४ र २५–१३ हराउँदै भोजपुर फाइनल प्रवेश गरेको थियो। 

पुरुषतर्फ दमक नगरपालिका झापा र सोताङ गाउँपालिका सोलुखुम्बुबीच भएको पहिलो सेमिफाइनलमा दमक नगरपालिका झापा सोझो सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको थियो। प्रतियोगितामा २५–२०, २५–२३ र २५–१८ मा सोताङ गाउँपालिका सोलुखुम्बुलाई हराउँदै दमक नगरपालिका झापा फाइनल प्रवेश गरेको हो। 

दोस्रो षडानन्द नगरपालिका भोजपुर र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाबीच भएको सेमिफाइनल खेलमा पनि सोझो सेटमा विजयी हुँदै षडानन्द नगरपालिका भोजपुर फाइनल प्रवेश गरेको आयोजकले जनाएको छ। प्रतियोगितामा भोजपुरले सिद्धिचरण नगरपालिका ओखलढुङ्गालाई २५–२२, २५–२२ र २५–२० मा हराएको हो। 

महिलातर्फको प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरकी क्याप्टेन रोमा श्रेष्ठ र केपिलासगढी गाउँपालिका बाक्सिलाकी सिखा कोइराई म्यान अफ द म्याच घोषित भएका रेफ्री सुधीर कार्की जानकारी दिएका छन्। पुरूषतर्फको सेमिफाइनलमा दमकका क्याप्टेन मुस्कान लिम्बू ‘राजन’ र षडानन्द नगरपालिका भोजपुरका खेलाडी मनिष गौतम म्यान अफ द म्याच घोषित भएका छन्। 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना महिला पुरुष दुवै स्थानीय तहले समानरूपमा क्रमशः नगद दुई लाख,एक लाख् ५० हजार र रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष रजिन राईले जानकारी दिएका छन्।

 विद्यागत पुरस्कारतर्फ महिला–पुरुष दुवै समूहका एकएकजना उत्कृष्ट खेलाडीलाई नगद रु पाँच–पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।यस्तै, बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट डिफेण्डर, बेस्ट सर्भर तथा अनुशासित समूह र बेस्ट प्रशिक्षकलाई नगद तीनतीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। 

अन्तरपालिकास्तरीय महिलापुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका छन्। 

पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बू, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बू, चिसङ्खु गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर –४ जलेश्वरी, ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर –५ महेश्वरी, ऐँलुखर्क गाउँपालिका–७ माक्पा र खेलकुद विकास समिति ऐँसेलुखर्क वडा नम्बर–३ ऐँलुखर्कको सहभागिता रहेको छ।

अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिबि)को नियमअनुसार सञ्चालन गरिएको प्रतियोगितमा नौजना खेलाडी, एकजना प्रशिक्षक र एकजना व्यवस्थापक गरी प्रत्येक समूहमा ११ सहभागी छन्।