विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजयी भएका छन् ।

विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाणा थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दल्ली दोस्रो चरणमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ४५ रनको विशाल योगफल खडा गर्यो । दिल्लीको जितको लागि मोहित अभिचानोनी र शिवम् किशोरले आक्रामक ब्याटिङ गरे । खेलको प्लेयर अफ द म्याचसमेत घोषित भएका मोहितले ३८ बलमा ९७ रन बनाए । झण्डै शतकनजिक स्कोर पु¥याउँदै उनले ९ छक्का र ८ चौका हिर्काए । शिवम् अविजित रहँदै २५ बलमा अर्धशतक कटाए । उनले ७ छक्का र ६ चौका हिर्काउँदै ७२ रन जोड्दा भरत कार्कीले २४ बलमा २९ रनको योगदान दिए ।

हरियाणा थन्दर्स क्रिकेट क्लबका अङ्कित गोस्वामीले ३ ओभरमा ३४ रन खर्चिएर ४ विकेट लिए । मोहितले २ विकेट र शुभम्ले १ विकेट लिए । २ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको हरियाणाले १९ ओभरमा सबै विकेट गुमाई १ सय ८६ रनमा सीमित भयो । सङ्गमले अविजित ३३ रन बनाउँदा टिस्मू कुमारले २८ रन जोडे । दिल्लीका सत्यजितले ४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । मोहितले २ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिए । सोही दिन भएको दोस्रो खेलमा झापाको बोष्टर्न क्रिकेट क्लबलाई एनबीएससीले २ सय १३ रनले पराजित गर्यो ।

टस हारेर ब्याटिङ गरेको एनबीएससीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय ८८ रनको विशाल योगफल खडा गर्यो । एनबीएससीका जितका लागि राहुल  चौधरीले विष्फोटक ब्याटिङ गरे । उनले  ३६ बलमा ९ छक्का र ६ चौका हिर्काउँदै सर्वाधिक ८३ रन बनाए । चिरञ्जीवी ठाकुरले २९ बलमा अर्धशतक कटाउँदै ६० रन बनाए । उनले ३ छक्का र ८ चौका प्रहार गरे । कुनाल किशोरले २० बलमा अविजित ५७ रन बनाए । उनले ४ छक्का र र ७ चौका हिर्काए । अनुभव कुमारले ४३ र रिसभले २९ रन बनाए । बोष्टर्नका सन्दीप क्षेत्री, दिवस शर्मा र प्रजित कुमारले समान १–१ विकेट लिए । २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको बोष्टर्नले १४.६ ओभरमा सबै विकेट गुमाई ७५ रनमा सीमित भयो । तरु शर्माले अविजित २५ रन बनाउँदा अन्य ब्याट्समेनले दोहोरो अङ्क बनाउन सकेनन् ।

एनबीएससीका मैनक कुमारले ४ ओभरमा २५ रन खर्चिएर ४ विकेट लिए । अदय झाले ३ विकेट लिए । प्लेयर अफ द म्याच एनबीएससीका सर्वाधिक रन बनाउने राहुल चौधरी घोषित भए । आज (आइतबार) को पहिलो खेल जोगवनीको प्रशान्त क्रिेकट क्लब र विराटनगरको सीसीए क्रिकेट क्लबबीच हुनेछ । आजै हुने दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लबबीच हुनेछ । मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा नेपालका १० र भारतका ६ टिमको सहभागिता रहेको छ । जेठ ५ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ, उपविजेताले ७५ हजार रुपैयाँ र ट्रफी पाउने मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जानकारी दिए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिज हुने खेलाडीले १५ हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ईमर्जिङ्ग प्लेयर हुने खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याच हुनेलाई २ हजार १ सय रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको प्रथम संस्करणको विजेता पूर्वाञ्चल एकाडेमी क्रिकेट क्लब र दोस्रो संस्करणकोे विजेता भारतको नरपथगञ्ज क्रिकेट क्लब रहेको थियो ।