विजयपुर । धरानका खोलाजन्य सामग्रीमा धरान उपमहानगरपालिकाले रोक लगाए पनि ठेकेदारसँगको मिलेमतोमा रातारात मिक्सगिट्टी चोरीतस्करी हुने गरेको तथ्य फेला परेको छ ।

धरान–१५ महादेवचोकदेखि पश्चिमतर्फ निर्माण भइरहेको बहुवर्षे आयोजनाअन्तर्गतको ‘सहिद रोड एन्ड ड्रेन’ निर्माणका लागि सेउती खोलाबाट मिक्सगिट्टी चोरीतस्करी हुने गरेको हो । स्थानीयले व्यापक गुनासो गरेको आधारमा ब्लाष्टकर्मीले अनुगमन गर्दा पनि चोरीतस्करी भएको भेटेको छ । ‘ट्याक्टरबाट रातारात चोरी हुँदै आएको छ । रातभर ट्याक्टर कुदेर हल्ला हुन्छ’ नाम नछाप्ने शर्तमा स्थानीयवासीहरूले भने, ‘तपाईंहरू आफै पनि आएर हेर्नुहोला । राति ७–८ बजेपछि ट्याक्टर सल्बलाउन थाल्छन् ।’

ब्लाष्टकर्मीले स्थलगत अध्ययनको क्रममा पनि उत्खनन् गरिरहेको भेटेको छ । उक्त मिक्स गिट्टी ल्याउँदै गरेको भिडियो फुटेज ब्लाष्टसँग सुरक्षित छ । स्थलगत अनुगमनमा पुग्दा तल्लो देउराली जोड्ने पुल दक्षिणतर्फ र उत्तरतर्फ ट्याक्टरमा लोड गरिरहेको भेटिएको थियो । उक्त स्थानबाट ट्याक्टरमा लोड गरिएको ‘मिक्सगिट्टी’ निर्माणाधीन सहिद रोडमा अनलोड गरेकोसम्म भेटिएको छ ।

उक्त सडक निर्माणको लागि ठेक्का भने ब्राइट बुल निर्माण सेवाले प्राप्त गरेको छ । उक्त कम्पनीले आठ करोड ९२ लाख ६२ हजार सात सय ९५ रुपैयाँमा ठेक्का पाएको हो । अहिले कम्पनीले ड्रेनको काम सकेर सडकमा ‘मिक्सगिट्टी’ बिछ्याउने काम गरिरहेको छ । उक्त  क्षेत्रका स्थानीयका अनुसार बेलुका करिब ८ बजेदेखि ट्याक्टर सल्बलाउने गरेको छ । यो विगत एक सातादेखि भइरहेको स्थानीयले बताए । करिब ८–९ वटा ट्याक्टरहरू परिचालित छन् ।

धरान–५ तल्लो देउरालीस्थित खोलाछेउका  स्थानीयका अनुसार बिहान करिब ४ बजेसम्म उत्खनन् गरिन्छ । ती स्थानीयले भनिन्, ‘चार–पाँच दिनदेखि रातभर ट्याक्टर आउने–जाने गर्छन् । त्यसको आवाजले सुत्न पनि पाइँदैन ।’ ट्याक्टर हेडलाइटसम्म पनि नबाली खोला प्रवेश गर्ने गरेको स्थलगत रिपोर्टिङका क्रममा पाइएको छ । यता ठेकेदार कम्पनीका सञ्चालक राहुल भण्डारीले निर्माण कार्यको ठेक्का आफ्नो भए पनि मिक्सगिट्टी ल्याउनका लागि अर्कै सप्लायर्सलाई आफूले जिम्मा दिएको भन्दै पन्छिए । उनले सुरुमा केराबारीबाट ल्याउने गरेको भनी दाबी गरेका थिए । तर, पछि सप्लायर्सलाई दिएकाले उसले कहाँबाट ल्याउँछ, आफूलाई थाहा नहुने बताए । उनले भने, ‘सप्लायर्सलाई जिम्मा दिइएको छ, उसले कहाँबाट मिक्सगिट्टी ल्याउँछ, हामीलाई थाहा हुँदैन ।’

धरान उपमहानगरपालिकाका राजस्व महाशाखाका प्रमुख खगेन्द्रप्रसाद खतिवडाका अनुसार धरानका खोलाजन्य सामग्री उत्खनन्को अधिकार दिइएको छैन । धरान उपमहानगरपालिकाका योजना महाशाखाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठले सडकमा चाहिने सबै सामग्री ठेकेदारले नै व्यवस्थापन गर्नुपर्ने बताए । खोलाजन्य सामग्रीको नियन्त्रण गर्ने जिम्मेवार निकाय वन कार्यालय हो ।

तर, धरानको वन कार्यालयले हालसम्म कारबाही गर्न सकेको छैन । सेउती खोला पाँचकन्या सामुदायिक वन कार्यालयको क्षेत्राधिकारमा पर्छ । पाँचकन्याका प्रमुख वन अधिकृत महेशकुमार साहले अब नियन्त्रणका लागि सक्रिय हुने बताए । ‘के भएको रहेछ भरे नै गाडी पठाउँछौँ’–उनले फोनसम्पर्कमा भने । उनले कानूनी कारबाही र जरिबाना नै कम हुने भएकाले पनि नियन्त्रणमा समस्या हुने भन्दै लाचारीपन प्रस्तुत गरे ।

स्थानीयवासीले भने प्रहरीको मिलेमतो भएका कारण पनि नियन्त्रणमा नलिएको हुनसक्ने बताए । ‘श्याम चोक प्रहरीलाई यसबारे सबै थाहा छ’ स्थानीयले भने, ‘तर, थाहा पाएर पनि नपाएजस्तो गरेको छ ।’ यसबारे श्याम चोक प्रहरीमा बुझ्दा प्रहरी चौकीमा कार्यरत दुई प्रहरीको हालै सरुवा भएकोले यसबारे केही पनि जानकारी नभएको बताए । यता इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी मानप्रसाद राईले नियन्त्रण गर्न लागिपर्ने बताउँदै भने, ‘अब प्रहरी गम्भीररूपमा लाग्छ ।’

khola sadak