धरान । बिलविजक नभएको चाँदी बोकेर आउँदै गर्दा तिब्बतीमूलकी भारतीय महिलालाई झापाबाट नेपाल प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार अवैधरूपमा ल्याउँदै गरेको अवस्थामा भारतस्थित उत्तराखण्ड राज्य देहरादुनकी ३१ वर्षीया तेन्जिन पलडोंलाई पक्राउ गरिएको हो ।

झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौँ जाने क्रममा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट दुई केजी पाँच ग्राम चाँदी र भारतीय पाँच सयका ५७ वटा नोट बरामद गरिएको छ ।

चन्द्रगढीस्थित नागरिक उड्डयन कार्यालय परिसरमा रहेको कार्यालय भवनको मूल ढोकाअगाडि कालो ब्याग र सुटकेस बोकी आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट आइफोन मोबाइल एक थान, एनसेल कम्पनीको सिमकार्ड दुई थान र भारतीय सिमकार्ड एक थान पनि बरामद गरिएको छ । उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा पठाइएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।