विजयपुर । धरान खानेपानी व्यवस्थापन बोर्डको वितरण प्रणाली चुस्त नहुँदा धरानमा खानेपानीको समस्या झन्–झन् चुलिँदै गएको छ । धरानमा खानेपानीको अभाव सुरु भएको महिनौँ पुगिसकेको छ ।

धरान–१२ का स्थानीय राजेशमान श्रेष्ठले धरान–१२ मा विगत ३ महिनादेखि खानेपानी नआएको बताए । उनले भने, ‘पानीको अभावका कारण चतरालाइन धरानभन्दा छुट्टै स्थानीय तह भएको अनुभव हुन थालेको छ ।’ उनले धरानका नगर प्रमुख हर्कराज राईलाई यसअघि पानी नआएको विषयमा ध्यानाकर्षण गराउन जाँदा पानी व्यवस्थापन गर्ने आश्वासन दिएर फर्काएको बताउँदै भने, ‘पलम्बर उचालेर नागरिकविरुद्ध प्रहरीमा उजुरी दिन लगाएको क्षण ताजै छ ।’ उनले धरानमा खानेपानीको समस्या लिएर जिम्मेवार व्यक्तिसम्म पुग्नसमेत अप्ठ्यारो र त्रास रहेको बताए । वडासदस्यसमेत रहेकी धरान–२ की स्थानीय सन्ध्या श्रेष्ठले खानेपानीको चरम् अभाव भएपश्चात खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत नगर प्रमुख राईलाई ध्यानाकर्षण गराएको बताइन् । उनले भनिन्, ‘खानेपानी अभावको सीमा नाघिसकेको छ र पनि मेयर साम्पाङले जनताको मनोभावना सम्बोधन गरेनन् ।’

यता धरान–८ का स्थानीयले भने दिन बिराएर पानी आइरहेको बताए । धरान–८ की एक स्थानीयले भनिन्, ‘तीन दिनमा एक दिन पर्याप्त पानी आउँछ ।’ धरान–१५ का कुनै क्षेत्रतिर पानी आइरहेको छ भने केही क्षेत्रमा नआएको १० दिनभन्दा बढी भइसकेको छ । वितरण प्रणालीमा समस्या भएका कारणले त्यस्तो भएको हो । वितरण प्रणालीका विषयमा जिज्ञासा राख्दा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले भने, ‘वितरण प्रणालीमा पनि केही समस्या छ । तर, पानी नभएकाले नै धेरै समस्या भएको हो । भौगोलिक बनावटका कारणले पनि कतै पानी जाने र कतै नजाने गरेको छ ।’ उनका अनुसार सबै वेल चल्दा भूमिगत पानी डेढ करोड लिटर आउँछ । तर, पछिल्लो समय लाइन जाने–आउने तथा वेल बिग्रिएका कारणले पनि समस्या उत्पन्न भएको छ । धरान उत्तरतर्फबाट आउने सतहको पानी मापनयोग्य नै छैन । कोकाहाबाट ५ लाख लिटर आउने बोर्डको दाबी छ । त्यो पनि हाल आइरहेको छैन ।

धरानमा दैनिक ३ करोड लिटर पानीको माग छ । खानेपानी व्यवस्थापन बोर्डले ३ वटा ट्याङ्करबाट खानेपानी वितरण गरिरहेको छ । कार्यकारी निर्देशक पोखरेलका अनुसार एउटा ट्याङ्कर बोर्डको र २ वटा ट्याङ्कर भाडामा लिएर खानेपानी वितरण गरिरहेको छ । तर, ट्याङ्कर सबै ठाउँमा पुगेको छैन ।

नगर प्रमुख राईको कार्यकक्ष घेराउ

धरानमा महिनौंदेखि धारामा पानी झर्न छाडेपछि खानेपानी माग गर्दै नागरिकले व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका नगर प्रमुख हर्कराज राईको कार्यकक्ष घेराउ गरेका छन् । आइतबार खानेपानी अभावले दैनिक जीवनयापन कठिनाइ भएपश्चात् विभिन्न वडाका स्थानीयले नगर प्रमुख राईको कार्यकक्ष घेराउ गरेका हुन् । 

खानेपानीकोे चरम् अभावबाट आजित भएका धरान–१, २, १२ लगायतका स्थानीयले कार्यकक्ष घेराउ गरेका हुन् । वडाका जनप्रतिनिधि तथा पूर्व जनप्रतिनिधिसमेत प्रमुख राईको कार्यकक्षमा पुगेका थिए । धरान–१ वडाध्यक्ष यज्ञमणि आचार्यले वडावासीको गुनासो थाम्न नसकेपछि ध्यानाकर्षण गर्न गएको बताए । उनले भने, ‘खानेपानी बोर्डमा १२ देखि १५ पटक ध्यानाकर्षण गराउँदा पनि समस्या हल नभएकाले मेयरलाई ध्यानाकर्षण गराउन आएका हौँ ।’ उनले वडा कार्यालयले नै ५ ट्याङ्करबाट वडावासीलाई पानी वितरण गरिरहेको बताए । राष्ट्रिय पजातन्त्र पार्टी सुनसरी जिल्ला सदस्य उद्धव श्रेष्ठले नगर प्रमुख राईको कार्यकक्षमा छिर्न नदिइएकोमा आपत्ति जनाए । उनले अत्यधिक गर्मीमा पानीको अभावले धरानेको जीवनयापन कष्टकर बनेको बताए । उनले खानेपानी  समस्या हल गर्न आएका नगर प्रमुख राईले सामाजिक सञ्जालमार्फत् अफवाह फैलाएर भ्रम सिर्जना गरेको बताए ।

प्रमुख राईको गैरजिम्मेवार अभिव्यक्ति
कार्यकक्ष घेराउ गर्न पुगेका नागरिकलाई नगर प्रमुख राईले गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । नगर प्रमुख राईले नागरिकलाई सम्बोधन गर्दै भने, ‘पानीको अभाव भए कोकाहामा लागेको आगो मार्न आउनू, समस्या समाधान हुन्छ अनि धारामा पानी आउँछ ।’

धरान–१ का पूर्व अध्यक्ष रोशन अधिकारीले नगर प्रमुख राईको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै भने, ‘डढेलो निभाउन गए मात्र पानी खुवाउँछु भनेर निर्वाचित भएको हो ।’ उनले नगर प्रमुख राईले कोकाहाको पाइप आफै काट्ने, आफै आगो लगाउने र जनताको सेन्टिमेन्ट मात्र बटुल्ने गरेको भन्दै आक्रोस पोखे । नगर प्रमुख राईले आइतबार बेलुकादेखि नै पानी आउने आश्वासन दिँदै वितरण प्रणालीमा समस्या भएमा कर्मचारीलाई कारबाही गर्ने बताए । राप्रपा अध्यक्ष श्रेष्ठले नगर प्रमुख राईको गैरजिम्मेवार प्रवृत्ति बढ्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरे ।