विजयपुर । धरान उपमहानगरपालिका वडा नं. १० लाई बालमैत्री वडा घोषणा गरिएको छ ।

शनिबार कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ, धरानका उपप्रमुख अइन्द्रविक्रम बेघा, वडाध्यक्षलगायतको उपस्थितिमा बालमैत्री वडा घोषणा गरिएको हो । वडाध्यक्ष विवेक राईका अनुसार बालमैत्री वडा घोषणा हुने १६ औँ वडा हो । बालमैत्री वडा घोषणा हुन ५१ वटा सूचक पूरा गर्नुपर्दछ । उनले वडाले ५० वटा सूचकमा सय प्रतिशत र एउटा सूचक ८० प्रतिशत अङ्क ल्याएको बताए ।

वडामा ८ सय ३७ जना बालबालिका छन् । कार्यक्रममा धरान–१५ का वडाध्यक्ष नरेश इवारामले नगरप्रमुख हर्कराज राई अनुपस्थित हुँदा अभिभावकविहीन भएको बताए । उनले नगर प्रमुख सङ्घ–संस्थाको प्रमुखजस्तो नभएको बताउँदै भने, ‘गफाडी, घमण्डी आहारिसेको सहर होइन धरान । जनताको मतले निर्वाचित भई सरकार प्रमुख शासकजस्तो हुँदा धरान बिग्रियो ।’

उनले धरानबाहिर धरानलाई मगन्तेको सहर भन्ने बताउँदै भने, ‘धरानबाहिर डेरा पाइँदैन ।’  उनले प्रमुख प्रशासकीय प्रमुख अनुपस्थित भएकोमा पनि असन्तुष्टि व्यक्त गरे । नेपाली काङ्ग्रेसका धरान सभापति श्याम पोखरेलले धरान नगरप्रमुख राई अनुपस्थित भएर वडावासी र मतदाताको अवहेलना गरेको बताए । उनले बालमैत्री वडा घोषणा गर्नु मात्र नभई बालमैत्री वडाको निरन्तरता दिनु महत्वपूर्ण भएको बताए । धरानका २० वटा वडामध्ये सबैभन्दा पहिले धरान–१३ बालमैत्री वडा घोषणा भएको थियो भने अब ४ वटा वडा घोषणा हुन बाँकी छ ।