मुढेशनिश्चरेमा दुई घर नष्ट

सङ्खुवासभाको चन्दनपुरस्थित कात्तिके सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । 

बुधबारबाट लागेको डढेलो हालसम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी अशोककुमार जवेगुका अनुसार खाँदबारी नगरपालिका–१० चन्दनपुरको कात्तिके सामुदायिक वनमा डढेलो लागेको हो । प्रहरी चौकी चन्दनपुर र  स्थानीयबासीले डढेलो नियन्त्रण गर्ने प्रयास गरिरहेको उनले जानकारी दिए ।

डढेलो नियन्त्रणमा नआएपछि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा, सशस्त्र प्रहरी बेस क्याम्प मानेभञ्ज्याङ सङ्खुवासभाबाट थप जनशक्ति परिचालित गरिएको छ । खाँदबारी नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र प्रहरीको प्रयासमा डढेलोबाट गाउँबस्ती सुरक्षित राखिएको प्रहरीले जनाएको छ । प्रहरीले आगो लगाउने व्यक्तिबारे जानकारी गराउन पनि अपिल गरेको छ । 

बुधबार नै सङ्खुवासभा धर्मदेवी नगरपालिका–३ मुढेबजार स्थित रुद्र जिमीको घरमा विद्युत् सर्ट भई लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार आगलागीबाट ढुङ्गा, माटोले बनेका र जस्ताको छानो भएको जिमीको  दुईवटा घर जलेर नष्ट भएको हो । आगो लाग्दालाग्दै महŒवपूर्ण सामग्रीहरू सुरक्षित तरिकाले निकालिएको प्रहरीले जनाएको छ । 

आगलागीबाट क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी जवेगूले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट मानवीय तथा चौपायामा क्षति भएन ।

प्रहरी चौकी शनिश्चरे, इलाका प्रहरी कार्यालय चैनपुर, प्रहरी चौकी खराङ तथा टुटेदेउराली, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागी तेह्रथुम वसन्तपुरस्थित लालीगुराँस नगरपालिका र म्याङ्लुङ नगरपालिकाको बारुणयन्त्रको सहायतामा नियन्त्रणमा लिइएको हो ।