विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफै जागरुक र सचेत हुनु आवश्यक रहेको बताएका छन् । 

राष्ट्रिय उपभोक्ता मञ्च मोरङ महिला समिति विराटनगरले आयोजना गरेको एकदिने उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख कोइरालाले सचेत र जागरुक उपभोक्ताको खाँचो रहेको उल्लेख गरे । बजार अनुगमन स्थानीय सरकारको अधिकार क्षेत्रभित्र परे पनि समन्वयका अभावमा अनुगमन प्रभावकारी हुन नसकेको बताए ।

उनले अन्य सरकारी निकायका प्रतिनिधिलाई समेत अनुगमनमा सहभागी गराउनु पर्दा समस्या देखिएको उल्लेख गरे । 

‘ऐनले स्थानीय तहको उपप्रमुखलाई बजार अनुगमनको जिम्मेवारी तोकेको छ । गुणस्तर, नापतौल, प्रशासनलगायतका सरकारी निकायका प्रतिनिधिले आलटाल गर्दछन्’ उनले थपे, ‘जसले गर्दा अनुगमन प्रभावकारी भइरहेको छैन ।’ 

सामानको गुणस्तर, उपभोग्य मिति, मूल्य सबै हेरेर मात्रै खरिद गर्ने बानीको विकास गर्नु जरुरी रहेको उनको भनाइ थियो । प्रशिक्षण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदी र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरकी निरीक्षक मनिषा राईले खाद्य स्वच्छता र गुणस्तर नियमन, गुणस्तर तथा नापतौलसम्बन्धी आधारभूत विषयमा जानकारी गराए ।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, विराटनगर वडानम्बर ८ का अध्यक्ष राम पोखरेल, अधिकारकर्मी भारती उपाध्याय, आयोजक संस्थाकी अध्यक्ष शोभा निरौलालगायतको उपस्थिति रहेको थियो ।