रिलाइन्स बोर्डिङ स्कुल मधुमल्लाले मधुमल्लाका अग्निपीडित बनेका व्यवसायीलाई आर्थिकसँगै निःशुल्क पढाउने घोषणा गरेको छ । 

विद्यालय प्रशासनको तर्फबाट लेखा अधिकृत भूवन राईले बिहीबार अग्निपीडित आफ्नो विद्यालयका अभिभावकसमेत रहेका हर्क श्रेष्ठलाई नगद ५० हजार प्रदान गर्दै आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हर्षिता र सुहाना श्रेष्ठको यो वर्षभरि कुनै पनि शुल्क नलिने, विद्यालयमा आवश्यक पर्ने पोसाक र पाठ्यपुस्तक पनि दिने निर्णय गरेको बताए । 

पारिवारिक काममा मित्र राष्ट्र भारतको मुम्बईमा रहेका विद्यालयका प्रिन्सिपल सुभाष राईले घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालयले आफ्नो अभिभावकको घरमा परेको दुःखमा सानो आर्थिक सहयोग र नानीहरूलाई पढाइमा प्रभाव नहोस् भनेर स्कुल फी, पोसाकसहित सम्पूर्ण खर्र्च विद्यालयले गर्ने बताए । श्रेष्ठले सञ्चालन गरेको होटलमा वैशाख १८ गते आगजनी हुँदा घरसहित सबै जलेर नष्ट भएको थियो ।