विजयपुर । गर्मी बढ्दै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मिर्गौलाको ‘डायलाइसिस’ गर्ने कक्षमा बिरामीले हैरानी खेपिरहेका छन् । गर्मीले बिरामी हैरान बनेका हुन् । यता ‘डायलाइसिस’ मेसिनलाई पनि असर पर्ने जानकारहरू बताउँछन् ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि धरान–१४ का प्रेम पराजुलीले प्रतिष्ठानमा डायलाइसिस गराउँदै आएका छन् । उनी उच्च तापक्रमले डायलाइसिस गराउन गाह्रो हुने गरेको बताउँछन् । ‘डायलाइसिस’ गर्न चार घण्टा लाग्छ । गर्मीले बसिसक्नु हुँदैन’ उनी भन्छन्, ‘अलि बाँचिन्थ्यो कि भनेर आएको यहाँ झनै गाह्रो छ । उपकुलपति, डाइरेक्टर एसीमा बस्छन्, उनीहरूलाई बिरामीलाई कस्तो छ के मतलव ? यो कुरा भिसी, निर्देशकसम्म पुर्याइदिनू ।’

धरान–४ का अर्का पीडित चन्द्र विश्वकर्माले विगत डेढ वर्षदेखि प्रतिष्ठानमा ‘डायलाइसिस’ गराउँदै आएका छन् । उनी भन्छन्, ‘डायलाइसिस’ गर्दा गर्मीले कपडा सबै भिज्छन् । बाँच्नका लागि डायलाइसिस गराउन आएको गर्मीले बेहोस हुने अवस्था छ ।’ यस्तै धरान–१३ की ७३ वर्षीया बेबु तामाङले पनि एकवर्षदेखि डायलाइसिस गराउँदै आएकी छन् । उनले अत्यधिक गर्मीमा चारघण्टा बस्नुपर्दा गाह्रो हुने गरेको सुनाइन् । प्रतिष्ठानमा २३ वटा डायलाइसिस मेसिन जडान गरिएको छ । ती मेसिनमा दैनिक ५५ जना बिरामीले डायलाइसिस गराउँदै आएका छन् । यस्तै आकस्मिक कक्षबाट डायलाइसिसका लागि पठाउने बिरामी अलग्गै हुन्छन् ।

गर्मी बढ्दै गएपछि डायलाइसिस गराउन बिरामीलाई सास्ती हुने गरेको छ । डायलाइसिस मेसिन निश्चित तापक्रममा राख्नुपर्ने भएकाले पनि असर पुग्ने नाम नछाप्ने सर्तमा प्रतिष्ठानमा कार्यरत एक कर्मचारी बताउँछिन् । ती कर्मचारी भन्छिन्, ‘धेरै तापक्रम भएपछि मेसिन कराउन थाल्छ । कतिपय मेसिनले इरर देखाउँछ । कुनै बन्द नै हुन्छन् ।’ डायलाइसिस गराउने ठाउँमा २१ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुन नहुने जानकार कर्मचारीहरू बताउँछन् । यसबारे अस्पतालका सहायक निर्देशक डा. इन्द्र लिम्बूले पनि पुष्टि गरे । उनले भने, ‘डायलाइसिस मेसिनका लागि २१ डिग्री टेम्प्रेचरभन्दा माथि जानु हुँदैन ।’ तर, अहिले धरानको तापक्रम ३६–३७ डिग्री सेल्सियस रहेको छ । डायलाइसिस कक्षमा हाल पङ्खा मात्रै लगाइएको छ । जुन बाहिरको तापक्रमलाई चिस्याउन अपर्याप्त रहेको कर्मचारी बताउँछन् । पङ्खा पनि निकै माथि राखिएको छ । ‘हामीले पङ्खा पनि तल झार्न भनी अनुरोध ग¥यौँ तर, भएन ।’ कर्मचारीका अनुसार ‘मेसिनमा नै ९९ डिग्री सेल्सियस तापक्रम सिर्जन’ गर्ने गर्छ ।

प्रतिष्ठानका सहायक निर्देशक डा. इन्द्र लिम्बूका अनुसार डायलाइसिस कक्षमा एसीको आवश्यकता रहेको छ । उनका अनुसार ठूलो एसी (भिआरएफ सिस्टम) राख्ने प्रक्रियामा छ । यसलाई थप पुष्टि गर्दै प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले एसी खरिद प्रक्रियामा रहेको बताए । प्रक्रियाका बारेमा थप बुझ्दा ‘सार्वजनिक खरिद ऐनअनुसार हुने’ भन्दै फोन काटे ।