इनरुवा । सुनसरीको चतरास्थित जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठका पिठाधीस सिद्धबाबा (कृष्णदासले) चतरामा आयोजना भैरहेको पूर्ण महाकुम्भबारे विवादित अभिव्यक्ति दिएका छन् ।

उनले कुम्भ आयोजनाका नाममा नेपाल सरकारका साथै प्रदेश सरकार र स्थानीय तहको साथ अनि सहयोगलाई बेकारको भएको बताएका छन् । उनले चतरामा जारी कुम्भलाई कुम्भ भन्न नसकिनेसमेत दाबी गरे । उनले उक्त आयोजनालाई मेलाको संज्ञा दिए । सबै साधुसन्त, महात्मालगायत हिन्दुधर्ममा आस्था राख्ने सबैको साझा थलो मात्रै कुम्भ हुने भन्दै उनले एकल व्यक्ति हाबी भै गरिएको आयोजनालाई कुम्भको नाम दिन नमिल्ने बताए ।

समाचार सङ्कलनका लागि आश्रम पुगेका सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले उक्त अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीका सचिवदेखि प्रदेशका मुख्य सचिव र स्थानीय मेयरसम्मको सहभागितामा कुम्भ समिति गठन गरिएको छ । तर, कुम्भमा हुनुपर्ने केही छैन । कुनै तयारी व्यवस्थित छैन । सबै अस्तव्यस्त छ । जसलाई कुम्भ भन्नै सकिन्न । तसर्थः कुम्भ भनेर गरिएको आयोजना कुनै पनि हालतमा सफल हुन सक्दैन ।’

पत्रकारहरूसँगको कुराकानीमा कृष्णदासले कुम्भ आयोजकतर्फ लक्षित गर्दै भने, ‘आफू राष्ट्रवादी भैटोपल्ने, अन्य सन्तमहन्तलाई धर्म विरोधी बनाउने प्रस्तुति अत्यन्त घिनलाग्दो र दुःखलाग्दो छ ।’ कुम्भ आयोजना गर्ने निश्चित विधिविधान, प्रक्रिया र आचार–संहिता हुने बताएका उनले चतरामा आयोजना गरिएको भनिएको कुम्भमा ती सारा विधान र प्रक्रिया मिचेर एकलवाद हाबी रहेको बताए । जसले कुम्भले सबैलाई समेट्न नसकेकोप्रति दुःख व्यक्त गरे ।

प्रथम जगद्गुरु बालसन्तप्रति लक्षित गर्दै सिद्धबाबाले एकल व्यक्तिको आयोजनालाई कुम्भ भन्न नसकिने बताए । उनले कुम्भलाई सफल पार्नका लागि आयोजना गरिएको सङ्कटमोचन श्रीहनुमन्त महायज्ञ तथा वैशाख ५ गतेबाट हुने बागेश्वर सरकारको आगमनले हिन्दु धर्मको प्रचार र उन्नतिमा पु¥याउने योगदानसहितका कार्यक्रमलाई सबै तहबाट ओझेल पार्ने र असहयोग गर्ने प्रयास भैरहेको आरोपसमेत लगाए । उनले धर्म रक्षा र प्रवद्र्धनको लागि एकल पहलमा आफूले काम गर्दै आएको बताए । सिद्धबाबाले आफूहरूको कार्यक्रमको सवालमा कुम्भ आयोजक र स्थानीय समितिका साथै स्वयम् राष्ट्रपतिबाट समेत सम्बोधन नहुनु दुर्भाग्यको कुरो भएको बताए ।

चतरामा जारी पूर्ण महाकुम्भमा प्रथम जगद्गुरु बालसन्त र जगद्गुरु सिद्धबाबाका बेग्लाबेग्लै आयोजनास्थल रहेका छन् । कुम्भमा जगद्गुरु बालसन्तले महास्नानसहितका धार्मिक अनुष्ठान र प्रवचन गर्दै आएका छन् । महायोगी सिद्धबाबाले भने सङ्कटमोचन हनुमद् महायज्ञ तथा कोटी होम, रामकथा प्रवचनजस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन् । सिद्धबाबाले ५ गतेबाट धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) को उपस्थितिमा हनुमान कथा वाचन कार्यक्रमसमेत तय गरेका छन् । राम मन्दिर निर्माणसमेतको तयारी रहेको उनको भनाइ छ । 

कुम्भको सन्दर्भमा जगद्गुरु बालसन्तले कुम्भको सम्पूर्ण जिम्मा नेपाल सरकारले लिनुपर्ने बताएका छन् । लाखौं भक्तजनको सहभागिता रहने भएकाले धर्म प्रचार मात्र नभई कुम्भले चतराधाम क्षेत्रकै प्रतिष्ठा बढाउने र आर्थिक गतिविधिसमेत बढाउने उनको विश्वास छ । बालसन्तले कुम्भ सफल पार्न नेपाल सरकारसहित अन्य सबैको साथ र सहयोगको अपेक्षा राखेका छन् ।

पूर्ण महाकुम्भको चैत्र २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । कुम्भ उद्घाटनको क्रममा राष्ट्रपति पौडेलले चतरामा हुने कुम्भले सबैलाई एकै सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका थिए । चतरामा जारी एक महिने कुम्भमेला यही वैशाख २८ गतेसम्म चल्नेछ ।