पाँचथर । पाँचथर फाल्गुनन्द गाउँपालिका–५ स्थित सिद्ध सरस्वती मा.वि.मा शिक्षण पेशामा आबद्ध भई दिवङ्गत भएका टङ्कप्रसाद गर्तौलाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

उनी कुम्मायक गाउँपालिका–१ गौरीगाउँवासी हुन् । उनको स्मृतिमा उनका छोराहरू दुर्गाप्रसाद, केशवराज र राजन गर्तौलाले दुई लाख एक हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिदिएका हुन् । दिवङ्गत टङ्कप्रसादले ३५ वर्ष उक्त विद्यालयमा अध्यापन गरेको प्रधानाध्यापक भीमकुमारी सम्बाहाङ्फेले जानकारी दिइन् ।

विद्यालय २०१३ सालमा स्थापित भएको हो । त्यसबेला ५ कक्षासम्म मात्रै सञ्चालन भएको थियो । २०७४ यता भने उक्त विद्यालयमा तीन कक्षासम्म मात्रै पठन–पाठन हुँदै आएको छ । विद्यार्थी सङ्ख्या घटेसँगै कक्षा घटाउनु परेको प्रअ सम्बाहाङ्फेले बताइन् । उनले अक्षयकोषले विद्यालयको दिगो विकास र शैक्षिक क्षेत्रको वृद्धि र विकासमा भूमिका खेल्ने बताइन् ।

विद्यालयको संरक्षण गर्दै शैक्षिक वातावरण वृद्धिका लागि विद्यालयमा अक्षयकोष स्थापना गरिदिएको अक्षयकोषदाता दुर्गाप्रसाद गर्तौलाले जानकारी दिए । उनका अनुसार बुबाले तीन घण्टा पैदल दूरीमा पुगेर अध्यापन गराएकाले पनि बालबालिकाको भविष्य उज्वल बनाउने उद्देश्यअनुरूप अक्षयकोष स्थापना गरेको बताए ।

अक्षयकोषको ब्याजबाट आवश्यकताअनुसार बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्ने जनाइएको छ । अक्षयकोषको वार्षिक ब्याजको ७५ प्रतिशत विद्यालयमा खर्च गरिने र बाँकी २५ प्रतिशत कोषमा जम्मा गर्दै लगिने सम्झौतामा उल्लेख छ । यसैबीच दुर्गाप्रसाद गर्तौला अध्यक्ष रहेको साना सहयोगी समूह नेपालले २२ बालबालिकालाई स्कुल ब्याग, पोसाक र शैक्षिक सामग्री वितरण गरेको थियो ।

संस्था स्थापना भएको सात वर्षको अवधिमा ४८ वटा सामुदायिक विद्यालयमा सहयोग गरिसकेको गर्तौलाको भनाइ छ । कार्यक्रममा फाल्गुनन्द–५ का वडाध्यक्ष विष्णुकुमार चेम्जोङले कमजोर अवस्थाको सामुदायिक विद्यालयमा गरेको सहयोगले बालबालिकाको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै गर्तौला परिवारको प्रशंसा गरे ।