विजयपुर । धरान–१५ को च्याम्पियन सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीलाई सीपमूलक तथा व्यावहारिक शिक्षा दिने भएको छ ।

आइतबार स्कुलले पत्रकार सम्मेलन गर्दै आगामी शैक्षिक सत्रबाट व्यावहारिक शिक्षा प्रदान गर्ने जनाएको हो । स्कुलका अध्यक्ष नेत्र सुवेदीका अनुसार विद्यार्थीहरूलाई प्लम्बिङ, इलेक्ट्रोनिक्स र प्राविधिक धारतर्फका आधारभूत इन्जिनियरिङ कक्षा सञ्चालन हुनेछ । त्यस्तै आधुनिक कृषि तथा पशुपालन, फेसन डिजाइन, पोषण विज्ञानसम्बन्धी अध्यापन गराइने अध्यक्ष सुवेदीले बताए ।

च्याम्पियन स्कुलका अध्यक्ष सुवेदीले होटल व्यवस्थापन र सत्कार व्यवस्थापन, फेसन डिजाइनिङ, पोषण विज्ञान, कृषि तथा पशुपालनलगायत विषयमा आउँदो शैक्षिक सत्रबाट विशेष कक्षा सुरु गरिने जानकारी दिए । उनले कृषि र पशुपालनसम्बन्धी तालिमका लागि विराटनगरस्थित कृषि फार्मलाई प्रयोगशालाका रूपमा प्रयोग गर्ने बताए । उनले विद्यालय पाठ्यक्रमले समेट्न नसकेका विषय अतिरिक्त क्रियाकलापका रूपमा अध्यापन गराउने बताए ।