विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा साइबर सेक्युरिटी दोस्रो कोड शिविर र एथिकल ह्याकिङ कार्यशाला सुरु भएको छ ।

कक्षा ११ मा अध्ययनरत विज्ञान र व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरूको लागि तीन दिने उक्त कार्यशाल आइतबारदेखि सुरु भएको हो । तालिममा विज्ञान र व्यवस्थापक सङ्कायका ४ सय बढी विद्यार्थीहरू सहभागी रहेको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । विद्यार्थीहरूलाई समय सुहाउँदो प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले दोस्रो पटक विज्ञ टोली ल्याएर कार्यशालामा सहभागी गराएको प्रिन्सिपल खड्काले बताए ।

‘प्राविधिक शिक्षा अहिलेको जीवन उपमुखी शिक्षा हो । यसमा विद्यार्थीहरूलाई जोडेर स्वरोजगार बनाउने हाम्रो उद्देश्य हो । यस्तो खालको कार्यशाला शिक्षादीपले पहिलो पटक काठमाडौंबाहिर विराटनगरमा गरेको छ’ प्रिन्सिपल खड्काले भने, ‘जहिले पनि नयाँ कुरा हामी ल्याउँछौं । यसको नेतृत्व गरेर शिक्षादीप अगाडि बढेको छ ।’ विद्यार्थीहरूलाई समय सुहाउँदो शिक्षाको लागि प्राविधिक क्षेत्रमा बढी जोड दिएर अगाडि बढाउने उनले बताए ।

आउँदो नयाँ शैक्षिक सत्रबाट आफ्नो आइटी ल्याव शिक्षादीपले स्थापना गर्ने पनि प्रिन्सिपल खड्काले बताए । ‘अहिले कलेजमा रहेको ५४ भन्दा बढी कम्प्युटर रहेको ल्यावमा विद्यार्थीहरूले एक साथ कम्प्युटरमा काम गर्दै आएका छन्’–उनले भने ।

तीन दिने कार्यशाला गोष्ठीको सहजीकरण कोड हिमालयका साइबर सेक्युरिटी डिभिजन प्रमुख भरत बस्यालले गरेका छन् । कार्यशालामा साइबर सुरक्षासम्बन्धी अन्य विभिन्न विषयमा जानकारी विद्यार्थीहरूलाई गराइने उनले बताए ।