पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको चाररातेमा चौँरी महोत्सव हुने भएको छ । भारतसँगको सीमावर्ती क्षेत्रस्थित गाउँपालिका–४ को चाररातेमा नयाँ वर्षको अवसर पारेर चौँरी महोत्सव हुन लागेको हो । फिदिममा पत्रकार सम्मेलन गरी सातौँ फालेलुङ ‘चौँरी पर्यटन महोत्सव’ बारे जानकारी गराइएको हो ।

यही चैत ३० गतेदेखि वैशाख २ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । फालेलुङ गाउँपालिका मुख्य आयोजक रहेको उक्त महोत्सव सम्पन्न गर्न फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरीपालक तथा संरक्षण संस्था आयोजना गर्ने बताइएको छ ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा झाँकी प्रदर्शन, याक नृत्य, चौँरीसँग सम्बन्धित खेल प्रदर्शन, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दोहोरी प्रतियोगिता, उत्कृष्ट पर्यावरण संरक्षण सम्मान कार्यक्रम र साहसिक फुटबल प्रतियोगितालगायतका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । महोत्सवमा करिब ६ सय चौँरीहरू प्रदर्शन गर्ने फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिए ।

नेपाल र भारतको वेष्ट बङ्गालसहित सिक्किमको सिमानामा रहेको चाररातेमा सातौं पटक महोत्सव गर्न लागिएको हो । गाउँपालिकाले चौँरी संस्कृतिको संरक्षण गर्न र पर्यापर्यटनको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको थाम्सुहाङले बताए । उनी भन्छन्, ‘सीमाक्षेत्रमा चौँरी महोत्सव गरेर नेपालले बलियो उपस्थिति जनाएकाले भारतले सीमा अतिक्रमण गर्न सकेको छैन ।’ उनले थपे, ‘चौँरी उच्च पहाडको सौन्दर्य मात्र नभएर सम्पत्ति पनि हो । चौँरीको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व ठानेर महोत्सवको तयारी गरेका हौँ ।’

महोत्सव क्षेत्रमा दर्जनौं चौँरी गोठहरू छन् । महोत्सवले पर्यटनको सम्भावनालाई माथि उठाउने विश्वास गरिएको छ । विगतका महोत्सवहरूकै कारण यस क्षेत्रमा पर्यटकहरूको चाप बढेको आयोजक संस्था दीपज्योति क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए । बस्तीविहीन जङ्गली क्षेत्रमा आयोजना गरिने महोत्सवमा आन्तरिक र वाह्य गरी १० हजार पर्यटकलाई सहभागी गराउने आयोजकको तयारी छ ।

महोत्सव अवलोकनको लागि पाँचथरसहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा काठमाडौं, भारतको सिक्किम र दार्जिलिङका पर्यटन व्यवसायी र सर्वसाधारण पुग्ने अनुमान गरिएको हो । महोत्सवमा चाँैरीको दूधबाट बनाइएका परिकारहरू, चौँरी र भेडाको उनबाट बनेका वस्तुहरू र लेकाली क्षेत्रमा पाइने जडिबुटी तथा कृषिजन्य वस्तुको स्टलहरू राख्ने तयारी छ ।

पत्रकार सम्मेलनमा पालिका अध्यक्ष थाम्सुहाङसहित उपाध्यक्ष महेन्द्रहाङ जबेगु, प्रवक्ता भरत खपाङ्गी, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेलगायत आयोजक संस्थाका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति थियो ।