धरान । धरानको नमुना विद्यालय पब्लिक हाईस्कुलको कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरिएको छ ।

कक्षा ११ का विद्यार्थीले आयोजना गरेको बिदाइ कार्यक्रममा प्रमुख अतिथि धरान–१२ का वडाध्यक्ष टङ्कबहादुर राई, विशेष अतिथिहरू पब्लिक हाईस्कुलका प्राचार्य डा.इन्द्रमोहन झा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराती, सह–प्राचार्य लेखनाथ भट्टराई, को–अर्डिनेटर वीरेन्द्रबहादुर साहलगायतले टीका लगाइदिँदै कलम उपहार दिएर सफलताको शुभकामना व्यक्त गरे । शिक्षकहरूले भविष्यमा असल र सफल मान्छे बन्न मिहिनेत गरेर अघि बढ्न सुझाव दिए ।

कक्षा ११ का विद्यार्थी समिर विकको अध्यक्षतामा भएको  बिदाइ कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्यलगायत मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ११ की छात्रा अस्मिता कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

त्यस्तै कक्षा १२ का कञ्चन खतिवडा र राम विश्वकर्माले मन्तव्य व्यक्त गर्दै पब्लिक हाईस्कुलमा आफूले राम्रो शिक्षा पाएको बताए ।

प्राविधिकधारसँगै साइन्स, म्यानेज्मेन्ट, होटल म्यानेज्मेन्टलगायतका विषय पढाइ हुने पब्लिक हाईस्कुलमा कक्षा ११ र १२ मा गरी जम्मा १५ सय हाराहारीमा विद्यार्थी छन् ।