इटहरी । नेपाल दशनामी समाजले सुनसरीको १२ वटै स्थानीय तहहरूमा सङ्गठन विस्तार गर्ने भएको छ । सुनसरीको इटहरी–२० तरहरास्थित रुद्राक्ष पार्टी प्यालेसमा आयोजित समाजको वार्षिक साधारणसभासँगै एकदिने नेतृत्व तथा व्यक्तित्व विकास तालिममा वक्ताहरूले सङ्गठन विस्तारमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तेजबहादुर पुरीले अन्य जातीय सङ्गठनको तुलनामा दशनामी थोरै सङ्ख्यामा भए पनि उत्कृष्ट र अब्बल रहेको बताए ।  सामाजिकलगायत विभिन्न क्षेत्रमा सक्रिय देखिए पनि सङ्गठन विस्तार भने न्यून रहेको बताए । उनले देशभर कुल १ लाख ९८ हजार ८ सय ४९ दशनामी सदस्यहरू रहेको बताउँदै समाजले इटहरीमा नौलो र उदाहरणीय कार्यक्रम गरेको बताए ।

त्यस्तै कार्यक्रमका नेपाल दशनामी समाजका केन्द्रीय कार्यवाहक महासचिव अशोक गिरीले समाज परिवर्तनदेखि मुलुकमा लोकतन्त्र स्थापनामा दशनामीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । दशनामी सङ्ख्यामा थोरै भए पनि सामाजिकलगायत विभिन्न क्षेत्रमा अब्बल रहेको उल्लेख गरे ।  कार्यक्रममा अध्यक्ष गोविन्द पुरीले आफ्नो कार्यकालमा वर्षभरि गरेको प्रगति विवरण पेस गरे । उनले आफ्नो नेतृत्वमा जिल्ला समिति गठनपश्चात् एक वर्षमा १९ वटा विभिन्न महŒवपूर्ण कार्यक्रमहरू गरेको बताए ।

अध्यक्ष पुरीले अबको १ वर्ष भित्र सुनसरीको १२ वटै स्थानीय तहहरूमा दशनामी समाजको सङ्गठन विस्तार गरी विभिन्न सीपमूलक तालिमहरू आयोजना गर्ने योजना रहेको सुनाए । त्यस्तै कार्यक्रममा समाजका सुनसरी कोषाध्यक्ष भूपराज पुरीले संस्थाले वर्षभरि गरेको आर्थिक विवरण पेस गरेका थिए । संस्थाले एक वर्षको अवधिमा सबै खर्च कटाएर कुल २ लाख २३ हजार ५ सय ५० मुनाफा राखेको कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा उल्लेख छ । 

कार्यक्रममा सामाजिक अभियन्ता तथा सहकारीकर्मी टीकादत्त बनले नेतृत्व कसरी लिने र पाएको जिम्मेवारीलाई सहज ढङ्गले कसरी निर्वाह गर्नेजस्ता उपयोगी प्रशिक्षण दिएका थिए । उनले पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू सहित उद्यमशीलता र सङ्गठनात्मक क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए ।