झापाको दमकमा भूटानी शरणार्थीको जीवन भोगाइबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

शरणार्थीको रेखदेखमा संलग्न शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (युएनएचसीआर) र दमक नगरपालिकाको संयोजनमा आयोजना गरिएको फोटो प्रदर्शनी यही चैत २९ गतेसम्म चल्ने छ ।

युएनएचसीआर नेपालका प्रवक्ता रोशन नेपालले शरणार्थीको इतिहास तथा मानव अधिकारप्रति नेपाल सरकार र शरणार्थी दातृ निकायले गर्ने कामलगायत उनीहरुको जीवन भोगाइका विषयमा जानकारी गराउने ध्येयले फोटो प्रदर्शनी आयोजना गरिएको बताए ।

नेपालमा बस्दै आएका भूटानी शरणार्थीका फोटो प्रदर्शनीमा राखिएका छन् ।

फोटो प्रदर्शनीले उनीहरूको आशा, चुनौती र नेपालमा मानवीय समुदायले गरेका प्रयासलाई प्रकाश पार्ने आयोजकको अपेक्षा छ । दमक नगरपालिकाको कार्यालय परिसरमा सञ्चालित उक्त फोटो प्रर्दशनीको अवलोकन निःशुल्करुपमा गर्न पाइने छ ।

मोरङको पथरीशनिश्चरे र झापाको दमक–३ स्थित बेलडाँगीमा झन्डै एक लाख सात हजार बढी भूटानी शरणार्थी विभिन्न शिविरमा बस्दैआएका थिए । सन् २००७ देखि युएनएचसीआरलगायत निकायले थालेको तेस्रो मुलुक पुनर्वास कार्यक्रममार्फत झन्डै एक लाख भूटानी शरणार्थीलाई अमेरिकालगायत मुलुकमा पुनर्वास गरिएको छ । अझै पनि शरणार्थी बस्तीमा ६ हजार पाँच सयको हाराहारीमा भूटानी शरणार्थी रहेका छन् ।