धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागमा कार्यरत प्रा.डा. पशुपति चौधरी रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. चौधरीलाई अध्यक्षमा नियुक्त गरेको हो । यस्तै समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबारको बैठकले समितिको अध्यक्ष र सदस्यमा नियुक्त गरेको हो । यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने पनि निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

अध्यक्षमा नियुक्त भएका प्रा.डा. चौधरीले समितिको जिम्मेवारीअन्तर्गत पूर्णकालीन प्रतिष्ठान निर्माण गर्नका लागि पूर्वाधार तयार पार्न वातावरण तयार गर्नेदेखि लिएर विविध कार्य गर्ने जिम्मेवारी रहेको बताए । ‘बीपी प्रतिष्ठानजस्तै बनाउनका लागि ऐन नियमावली बनाउने काम गर्नेछ । हस्पिटलको पूर्वाधार निर्माण गरी बिरामीलाई सेवा दिने रहेको छ’ उनले भने, ‘त्यसका लागि बजेट निर्माण गरेर सरकारलाई पेश गर्ने काम पनि गर्नेछ ।’

त्यस्तै एमबीबीएस र एमडीएमएस कोर्ष सञ्चालन गर्न पूर्वाधार विकास गर्ने पनि समितिको लक्ष्य हुने उनले जानकारी दिए । यसका लागि विभिन्न स्वास्थ्य संस्था तथा अन्य संस्थासँग एमओयु गर्नेसम्मको जिम्मेवारी समितिलाई हुने उनले जानकारी दिए ।