विजयपुर । कोशी प्रदेशका पाँच जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा सुरु भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको सहकार्यमा पाँच जिल्लामा सेवा सुरु गरिएको हो । सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सुरु भएको हो । बिहीबार बीपी प्रतिष्ठानमा एक कार्यक्रमका बीच कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले सेवाको उद्घाटन गरे ।

टेलिमेडिसिन कार्यक्रममार्फत् सेवाग्राहीले सम्बन्धित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमार्फत् प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत प्रसादले टेलिमेडिसिन कार्यक्रममार्फत् प्रदेशभरिका स्वास्थ्य संस्थाहरूमा प्रतिष्ठानको विशेषज्ञ सेवा विस्तार हुँदै गरेको बताए ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर कटुवालले स्वास्थ्य सेवा विस्तारको लागि प्रदेश सरकार सरोकारवालाहरूसँग सहकार्य गर्न चाहेको बताए । प्रतिष्ठानअन्तर्गतका ई–हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमका प्रवक्ता प्रा.डा. नरेन्द्र भट्टले टेलिमेडिसिन सेवाको प्रभावकारिताबारे प्रकाश पारे । कार्यक्रममा मेडिकल को–अर्डिनेटर डा. प्रमेन्द्रप्रसाद गुप्ताले प्रतिष्ठानअन्तर्गत सञ्चालित टेलिमेडिसिन कार्यक्रम उत्कृष्ट रहेको दाबी गरे ।