नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले मुलुकमा अहिले देखिएको अप्ठ्यारो परिस्थिति अन्त्य गरी आर्थिक विकासका लागि गठबन्धन आवश्यक रहेकोमा जोड दिएको छ।

उनले प्रत्येक वर्ष सङ्घीय र प्रदेशको सरकार परिवर्तनले मुलुकमा समस्या उत्पन्न हुनाले एउटा स्थिर सरकार निर्माणका लागि कांग्रेस र एमालेको बाहेक अन्य विकल्प हुन नसक्ने प्रष्ट पारेका छन्।

नेता डा. कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा वामपन्थी पार्टीका चार प्रधानमन्त्री नियुक्त भए पनि संविधान निर्माणका लागि कांग्रेसक नै आवश्यक परेको विगत स्मरण गरेका छन्।

उनले कांग्रेस र एमालेको संयक्त सरकार निर्माणको पहल आफूले सुरु गरेको चर्चा गर्दै समय आएपछि कार्यान्वयन हुने विश्वाससमेत व्यक्त गरेका छन्।
उनले संयुक्त सरकार निर्माणका लागि नेता, दलबीच, निर्वाचन प्रणाली कसरी सुधार गर्ने विषयमा छलफल गरी निर्णय हुने धारणा राखेका छन्।

सङ्घीय सांसद डा. कोइरालाले संविधान सुधार, अर्थतन्त्रको चलायमान गराउनु र मुलुकमा राजनीतिक स्थिरता मुख्य आवश्यक्ता रहेको बताएका छन्।

एक प्रश्नको जवाफमा उनले कोशी प्रदेश सरकारले अहिलेदेखि दुई वर्षसम्म विश्वासको मत लिनुपर्ने छैन भन्दै यो सरकार धारा ५ अनुसार निर्माण भएकाले जरुरी नभएको बताएका छन्।

उनलेले कोशी सरकार अल्पमतमा समेत नरहेकोले अन्य पार्टीले समर्थन फिर्ता लिए पनि राजीनामा दिनुपर्छ भन्ने नरहेको बताए। त्यो नैतिकताको कुरा मात्र भएको नेता कोइरालाले प्रष्ट पारेका छन्।