इटहरी । इटहरीमा निर्मित इप्पी ल्याण्ड एन्ड वाटर पार्कले पनि खोलाको जग्गा अतिक्रमण गरेको पाइएको छ ।

जग्गा अतिक्रमण गरेर पार्क निर्माण गरेको पाइएपछि खोला सफाइ अभियानको क्रममा डोजर चलाउन सुरु गरिएको छ । २०७७ फागुन १७ गते उक्त पार्क सङ्घीय सरकारका तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालले उद्घाटन गरेका थिए । इटहरी उपमहानगरको टोलीले बुधबार नापजाँच गर्ने क्रममा इप्पी ल्याण्ड पनि खोलाको जग्गा अतिक्रमण गरी निर्माण गरेको भेटिएको टोलीले जनाएको छ ।

इप्पी ल्याण्डले मिचेको जग्गा क्षेत्रको कम्पाउण्ड पर्खाल भत्काएको छ । ६ बिघा क्षेत्रफलमा फैलिएको पार्कले खोलाको के कति जमिन मिचेको छ भन्ने विषयमा नापजाँच पछि मात्रै खुल्ने नगरका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए । खोलाको जग्गामा बनेको पर्खाल भत्काउँदै गर्दा अझै कति र कुन–कुन क्षेत्र भत्किने हो अहिल्यै भन्न नसकिने प्रमुख चौधरीले जानकारी दिए । नगरको टोलीले नापजाँचपछि सबै अवैध संरचना हटाउन पार्क सञ्चालकलाई आग्रह गरेको थियो ।

फलामको डण्डी प्रयोग गरी निर्माण गरिएको घेराबारा पार्कका कर्मचारी आफैले हटाएपछि अवैध संरचनामा नगरले डोजर चलाएको उनले जानकारी दिए । पार्कले मूल गेटको बायाँतर्फ नै खोलाको जग्गा मिचेर पर्खाल निर्माण गरेको देखिएको छ भने खोलाकै जग्गाबाट पुल उठाएर पार्क बनाएको छ ।

सो क्षेत्रमा एक एस्काभेटर र एक डोजर प्रयोग गरी अवैध संरचना हटाउने र खोला फराकिलो बनाउने काम भइरहेको शाखा प्रमुख चौधरीले बताए । करिब ३० करोडको लागतमा सञ्चालन भइरहेको इप्पी ल्याण्ड निर्माण भएको थियो । उक्त पार्क इटहरी–२ को सेरा खोला किनारमा पर्दछ । यसैबीच नगरले चलाएको खोला सफाइ अभियान अन्तर्गत बुधबारसम्म थप ११ वटा संरचना भत्काइएको अभियानका संयोजकसमेत रहेका चौधरीले बताए ।