इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–९ बबियाको चाइना स्कुलनजिकबाट अज्ञात समूहले नगद पाँच लाख ३५ हजार रुपैयाँ रकम लुटेको छ ।

हरिनगर गाउँपालिका–२ की सैहरा खातुनको साथबाट बुधबार दिउँसोको समयमा नगद रकम लुटिएको हो । मालपोत कार्यालय इनरुवाबाट जग्गा बिक्री गरी घर फर्किने क्रममा खातुन आशिफ भनिने नाति सद्दाम अन्सारीले चलाएको मोटरसाइकलको पछाडि सवार थिइन् । अन्सारीका अनुसार बबियाको चाइना स्कुलनजिक नहर बाटोको एकान्त स्थानमा आफूले चलाएको मोटरसाइकलमा अज्ञात व्यक्तिले एक्कासि लात्तले हानेको थियो ।

सो क्रममा बाइकमा सवार आफू र आफ्नो हजुरआमा लडेको उनले बताए । अन्सारीले भने, ‘सबै रकम हजुरआमाले ब्यागमा बोक्नुभएको थियो । एक्कासि आफूले चलाएको मोटरसाइकलमा लात्तले हानेपछि दुवै लड्यौँ । लडेपछि हजुरआमाको साथमा रहेको ब्याग खोस्न खोज्दा ब्याग तानातान भएको थियो । अज्ञात समूहले भाग्ने क्रममा दुई राउन्ड गोली फायर गरेर रकम लुटी फरार भए ।’

आफूहरू मालपोत कार्यालय इनरुवाबाट फर्कंदादेखि नै तीन जनाको एक समूह मोटरसाइकलमा पछाडि आउँदै गरेको देखेको र सोही समूहले सुनियोजित तवरले पिछा गरेर रकम लुटेको हुनसक्ने घटना विवरण जानकारी गराउने क्रममा अन्सारीले बताएको घटनास्थल पुगेका स्थानीयले बताएका छन् । यता रकम लुटिएको विषयमा सुनसरी प्रहरीले भने अनुसन्धान सुरु गरेको जनाएको छ । रकम लुटिएको विषयमा जानकारी आएको र लुटिएका व्यक्तिसँग सोधपुछ तथा फरार रहेकाको सवालमा खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । घटनाबारे अनुसन्धान अघि बढिसकेको बताएका भण्डारीले वास्तविकता बाहिरिएपछि सबै विषय छर्लङ्ग हुने बताए ।