इटहरी । लामो समयदेखि चर्चामा रहेको आकाशे पुल निर्माणले बल्ल पूर्णता पाएको छ । कोशी प्रदेशका तत्कालीन एमाले सांसद् सर्वध्वोज साँवाले इटहरीमा आकाशे पुल निर्माणको अवधारणा ल्याएका थिए । इटहरी उपमहानगरले साँवाको योजनालाई सार्थकता दिलाउन यसै वर्षदेखि काम सुरु हुनेगरी इटहरीको दुई स्थानमा आकाशे पुल निर्माण प्रक्रिया अघि बढाएको छ ।

स्थानीय पैदलयात्रीहरूको मर्कालाई मध्यनजर गर्दै उपमहानगरले इटहरीको मुख्य चौकदेखि उत्तरतर्फ धरान रोडमा सङ्गीत चौकबाट रोड क्रस गरी पारी आकेश कलेक्सनछेउ ओर्लने गरी आकाशे पुल निर्माण गरिने भएको उपमहानगरका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए । त्यस्तै मुख्य चौकबाट दक्षिणतर्फ गोल्डेन चौकमा पनि अर्को आकाशे पुल निर्माण हुने उनले बताए । दुवै आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको प्रवक्ता पोखे्रलले बताए ।

उपमहानगरले गत फागुन १८ गते २ स्थानमा आकाशे पुल निर्माणसम्बन्धी ठेक्का आह्वान गरेको थियो । जसमा रिजेन्सी विल्डर्सले चार करोड ५१ लाख ६३ हजार ७ सय ५२ रुपैयाँ प्रस्तावसहित ठेक्का सम्झौता पाएको प्रवक्ता पोख्रेलले बताए । उपमहानगरले पाँच करोड ४४ लाख चार हजार पाँच ५४ रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।

सबै प्रक्रिया पूरा भइसकेकोले अबको केही दिनमै शिलान्यास गरेर निर्माण थाल्ने उपमहानगरका इञ्जिनियर जीवन घिमिरेले बताए । निर्माण सम्झौता गरेको कम्पनीले एक वर्षभित्र २ वटा आकाशे पुल बनाएर उपमहानगरलाई हस्तान्तरण गरिसक्ने इञ्जिनियर घिमिरेले बताए । इटहरीमा पार्किङ अभावका कारण पैदलयात्रीहरूलाई सडक पार गर्न निकै कठिनाइ पर्ने गरेको छ ।

‘६ वर्षदेखि यही हल्ला सुन्दा–सुन्दा वाक्क लागिसक्यो । आकाशे पुल बनेदेखि धेरै राहत हुन्थ्यो’–इटहरी मुख्यचोकमै कम्प्युटर व्यवसाय गर्दै आएका खड्ग ओझा भन्छन् । इटहरीको मुख्य चौकमा तत्काल आकाशे पुल निर्माण भए सर्वसाधारणदेखि पैदलयात्रीहरूलाई निकै सहज हुने र इटहरीको विकास सँगसँगै आन्तरिक पर्यटकहरूको लागि आकर्षक केन्द्र पनि बन्ने हीरा होटलका सञ्चालक प्रकाश महतो बताउँछन् ।

ठेक्का लागिसकेकोले अब केही दिनमै शिलान्यास गरेर काम अघि बढाइने उपमहानगरले जनाएको छ । इटहरीमा ६ वर्षदेखि आकाशे पुलको चर्चा हुँदै आएको थियो । पूर्व सांसद् सर्वध्वोज साँवाले इटहरीमा आकाशे पुल बनाए ‘आहा ! इटहरी’ हुने भन्दै हौसिएका थिए । पुल निर्माणअन्तर्गत तीन वर्षअघि नै उपमहानगरले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरेको थियो ।

तर, नक्सा गलत बनाएपछि पुलका लागि प्रदेश सरकारबाट आएको बजेटसमेत फिर्ता हुँदा निर्माण प्रक्रिया त्यतिकै सेलाएको थियो । स्थानीय निर्वाचनको बेला जनतासामु राखेको प्रतिबद्धताअनुसार इटहरीमा आकाशे पुल निर्माणले गति लिएको नगर प्रमुख हेमकर्ण पौडेल बताउँछन् । ‘ठेक्का लागिसक्यो अब बन्दैन र हुँदैन भन्ने कुरै रहँदैन’–प्रमुख पौडेलले भने ।