इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिनासँगै मस्जिदमा एत्तकाब बस्ने कार्य सुरु भएको छ।

रमजान महिना तीन भागमा विभाजित हुन्छ। यसमध्ये पहिलो आसरा ‘रहमत’, दोस्रो आसरा ‘मगफिरत’ र २० औँ रोजा व्रतदेखि सुरु हुने तेस्रो आसरा अर्थात् नर्कबाट मुक्ति प्राप्त गर्न प्रत्येक जामे मस्जिदमा एत्तकाब बस्ने प्रचलन।

विराटनगर महानगरपालिका वडा नम्बर – ६ निवासी शहबाजिया माध्यमिक विद्यालयका प्रधानाध्यापक इमाम हैदरका अनुसार यो एत्तकाब मुसलमान समुदायका लागि मात्र नभएर संसारका हरेका मानव जातिका लागि सुुख, शान्ति, सद्भाव र समृद्धिका लागि अल्लाहसँग प्रार्थना गर्नु हो भने।   

एत्तकाबमा बस्ने मानिसले मौन रही घरपरिवार, इस्टमित्र र व्यापार अन्य क्रियाकलापबाट टाढा रहनुपर्ने धार्मिक मान्यता छ जसलाई मुसलमानहरुले अहिलेसम्म पछ्याइरहेका छन्। विराटनगर बुधहाट जामे मस्जिदमा मोहम्मद एजहारुल, हाजी कमर आलम, अब्दुल कादिर एत्तकाबमा बस्नुभएको छ। दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो।

शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। कुलतमा लागेका मानिसहरु एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुस्लिमहरु रोजा बस्नुलाई गर्व मान्दछ। नबालक, बिरामी, गम्भीर प्रकृतिका रोगी र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन। सम्भवतः यस वर्ष मुस्लिमहरुले आगामी चैत २८ गते ‘इदुलफित्र’ पर्व धुमधामसँग मनाउने तयारीमा जुटेका छन् ।