धनकुटा । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला विभागले धनकुटा नगरपालिका–४ देब्रेबासस्थित श्रीपञ्चमीमा रहेको बाल पुनःस्थापना केन्द्रलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

केन्द्रका बालबालिकाको शिक्षा तथा दैनिकीको लागि उक्त रकम सहयोग गरिएको गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला विभागका उपाध्यक्ष रोजिना प्रधानले जानकारी दिइन् । केन्द्रमा १३ बालबालिका आश्रित छन् । उक्त रकम त्यहाँ रहेका अभिभावकविहीन बालबालिकालाई लेखपढ, आवास तथा खानाको प्रबन्धमा खर्च गरिने केन्द्रका अध्यक्ष शकुन्तला बस्नेतले बताइन् ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसी, उपमहासचिव सोम सापकोटा, सह–कोषाध्यक्ष कृष्ण तिम्सिना, प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्र राउत, सचिव राधिका गुरुङले संयुक्तरूपमा रकम हस्तान्तरण गरे । बालबालिकालाई १२ कक्षासम्म अध्ययन गराउनसमेत एनआरएनएले सहयोग गर्ने महिला विभागका उपाध्यक्ष प्रधानले जानकारी दिइन् ।

यसैबीच मोरङ, सुनसरी र भोजपुरका अग्निपीडितलाई समेत सहयोग गरिएको एनआरएनका अध्यक्ष डा. बद्री केसीले बताए । यसक्रममा मोरङको रङ्गेलीका २३, सुनसरीको बर्जुका ३१ र भोजपुरका ५ अग्निपीडित परिवारलाई जस्तापातालगायत सहयोग गरिएको उनले बताए । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङलगायतको उपस्थिति रहेको थियो ।