कनकाई नगरपालिकामा फोहोर व्यवस्थापनसँगै बायोग्यास उत्पादन गरिरहेको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले प्लास्टिक ब्लक ९पेवर्स० उत्पादन सुरु गरेको छ।

स्थानीय सरकार तथा निजी लगानी रहेको सो ऊर्जा परियोजनाले दैनिक दुई हजार थान पेवर्स उत्पादन गर्ने गरी परीक्षण उत्पादन सुरु गरेको हो। प्लास्टिक ब्लक मेकिङ मेसिन एक करोड ७१ लाखको लागतमा ल्याइएको परियोजनाका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले जानकारी दिएका छन्।

उनले सो मेसिनबाट दैनिक १० जनशक्तिको प्रयोग गरी २४ घण्टा नै पेवर्स उत्पादन गर्न सकिने बताएका। उनले परीक्षणकालीन समय एक हप्ताका लागि भएको बताएका छन्। भारतबाट ल्याइएको स्वचालित मेसिनले बालुवा र प्लास्टिकको मिश्रण आफै मिलाउने उनको भनाइ छ।

पहिलो चरणमा प्लास्टिकलाई टुक्र्याएर ६० देखि ७० डिग्री तापक्रममा गलाएर लेदो बनाइने र लेदोलाई प्रेस मेसिनमा राखेर ३० टनको लोड दिएर ब्लक निर्माण गरिने गरेको उनले जानकारी दिएका। विभिन्न आकारमा निर्माण गरेर केहीबेर पानीमा राखिने गरेको ब्लकको भार क्षमता ८० टन रहेको इ अलीले बताए। मर्मत राम्रो भएमा वर्षौंसम्म ब्लकले काम गर्ने उनको भनाइ छ।

प्लास्टिक र बालुवाबाट निर्मित ब्लकको मूल्य प्रतिगोटा १२ रहेको छ। उनले भने, “सिमेन्टबाट निर्मित ब्लकको मूल्यभन्दा झन्डै आधा खर्चमा पाइन्छ। यस ब्लकबाट सडकदेखि घर कम्पाउन्ड निर्माण प्रयोग गर्न सकिन्छ ।”

दैनिक दुई हजार ब्लक उत्पादन गर्न चार टन प्लास्टिक चाहिने ऊर्जा परियोजनाले जनाएको छ। उनका अनुसार हाल दैनिक डेढ टन प्लास्टिक मात्र परियोजनामा सङ्कलन हुने गरेको छ। कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा परियोजनाले वर्गीकरण गरेको फोहोरबाट बायोग्यास र ब्लक निर्माण भएको हो। बायोग्यास उत्पादन भइरहे पनि त्यसको बिक्री हुन नसकिरहेको परियोजनाले जनाएको छ।

परियोजना कनकाई, विर्तामोड र अर्जुनधारा नगरपालिका, दातृ निकाय र स्थानीय नागरिक समेतको  २२ करोड लगानीमा फोहोर मैलाको दिगो व्यवस्थापनका लागि बायोग्यास प्लान्ट निर्माण गरिएको थियो।