इटहरी । इटहरी उपमहानगरले टेङ्ग्रा करिडोर निर्माण अभियानलाई तीव्रता दिएको छ । गत मङ्गलबारदेखि सुरु भएको अभियानको क्रममा हालसम्म १९ वटा संरचना भत्काएको छ ।

एक साताको अभियानमा करिब दुई किलोमिटर खोला सफाइ गरिएको नगरले जनाएको छ । इटहरी–२ स्थित टेङ्ग्रा खोलाको सिरानबाट अभियान सुरु गरिएको हो । पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि स्थानीयले अटेर गरेपछि खोलाको जग्गामा बनेका संरचनामा नगरले डोजर चलाएको हो । अहिले उक्त क्षेत्रमा तीन स्काभेटर, २ वटा जेसिबी केही ट्याक्टर र टिपर परिचालन गरी खोला सफाइ अभियानलाई तीव्र पारिएको प्रशासन शाखा प्रमुख सञ्जीव खड्काले बताए ।

उक्त क्षेत्रमा २४ जना प्राविधिक टोली, ३६ जना नगर प्रहरी र ५ जना नेपाल प्रहरी खटिएको उनले बताए । खोलाको भाग सफाइ गर्ने क्रममा एक दर्जन बढी चौपायाका गोठहरू भत्काइएको छ भने बाँसका झ्याङहरू फाँडिएको टेङ्ग्रा सफाइ अभियानका संयोजक तथा उपमहानगरको वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बताए ।

चौधरीका अनुसार वडा नं. २ को काम सकिएर ३ नं. वडामा प्रवेश गरी काम अघि बढाइएको छ । गत ६ महिनायता नै खोलाको सीमा निर्धारण गरी अवैध संरचना हटाउन चार पटकसम्म म्याद थपेर सूचना जारी गरिएको थियो । मङ्गलबार भने उपमहानगरका प्रमुख हेमकर्ण पौडेलसहितको विज्ञ टोली, स्थानीय जनप्रतिनिधिहरू, प्रहरी प्रशासन र नगर प्रहरीसहितले स्थलगत नापजाँच गरी अवैध संरचना हटाउन थालिएको हो ।

नक्सा पासविनै ६४ वटा संरचना
सफाइ अभियान चलिरहँदा खोलाको जग्गा अतिक्रमण गरी बनाइएका ७६ वटा भौतिक संरचनामध्ये ६४ वटा नक्सा पास विनै बनाइएको भेटिएको छ । दुवैतर्फ ६–६ मिटर कायम हुनेगरी सफाइ अभियान चलिरहँदा निर्माण भएका संरचनाको अवस्था बुझ्दा ६४ वटा नक्सा पासविनै बनेको पाइएको प्राविधिक समितिले जनाएको छ ।

खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलका र सो कार्यदलअन्तर्गतको उपसमितिमा रहेका प्राविधिक टोलीले टेङ्ग्राखोलाको मुहानदेखि दक्षिणी सीमासम्म नापजाँच सुरू गरेको थियो । नापजाँचकै क्रममा खोलाको जग्गा मिचेर कुल ७६ वटा भौतिक संरचना निर्माण गरेको भेटिएको छ । त्यसमध्ये ६४ वटा संरचना नक्सा पास विनै निर्माण गरेको कार्यदलले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार खोलाको जग्गामा नक्सा पासै नगरी २२ वटा आरसीसी भवन बनाइएको छ । त्यस्तै २ वटा चर्च, विद्यालय भवन र धेरैजसो स्थानीयहरु आफैले घर बनाएको पाइएको छ । खोला सफाइ अभियानका संयोजक तथा उपमहानगरका वातावरण शाखा प्रमुख चौधरीका अनुसार इटहरी–३, ४ र ६ नं. क्षेत्रमा बढीजसो खोलाको जग्गा मिचिएको छ ।

कसैको कुरा सुन्दिनँः नगर प्रमुख
इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले खोलाको जग्गा अतिक्रमण गरेर ठडिएका भौतिक संरचनाहरुमा डोजर लगाइने बताएका छन् । उनले मापदण्डविपरीत र खोला अतिक्रमण गरी निर्माण गरिएका भवनहरु भत्काउने बताए । ‘कसैको कुरा सुन्दिनँ’–उनले भने । नगरको गुरूयोजनाको रुपमा रहेको टेङ्ग्रा करिडोर निर्माण सम्पन्न गराइछाड्ने प्रमुख पौडेलले बताए । उनले टेङ्ग्रा मात्र नभएर सार्वजनिक सम्पत्ति मिचेर बनाइएका सबै संरचनाहरुमा डोजर चल्ने दाबी गरे । ‘भरसक आफै भत्काउनूस्, नभए उपमहानगरले बल प्रयोग गरेर भए पनि भत्काउँछ, भत्काउँछ’–पौडेलले भने ।