धरान । पब्लिक हाईस्कुल धरानको आयोजनामा पूर्व प्राथमिक तहका शिक्षिकाहरूका लागि पाँच दिने मन्टेश्वरी तालिम सुरु भएको छ ।

सोमबारबाट सुरु भएको तालिममा धरानका सामुदायिक तथा संस्थागत विद्यालयका जम्मा ३४ शिक्षिकाहरू सहभागी छन् । अन्य कक्षाका शिक्षक शिक्षिकाका लागि विभिन्न तालिम सञ्चालन भए पनि पूर्व प्राथमिक तथा बाल शिक्षाका शिक्षक शिक्षिकाका लागि कतैबाट तालिम दिने व्यवस्था नभएकाले यस्तो तालिमको आयोजना गरिएको पब्लिक हाईस्कुलका प्राचार्य डा.इन्द्रमोहन झाले बताए । उनले सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई सँगै अगाडि बढाउनु पर्ने बताए ।

तालिममा सहभागी शिक्षिकाहरूलाई प्रशिक्षक दोर्णप्रसाद न्यौपानेले प्रशिक्षण दिइरहेका छन् । उनले पूर्व प्राथमिक कक्षालाई प्राथमिकता दिनसके मात्र विद्यार्थीको पढाइ सुधार हुने बताए ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले धरान उपमहानगपालिकाले आयोजना गर्नुपर्ने तालिम पब्लिक हाईस्कुलले आयोजना गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले उपमहानगरपालिकाले पनि यस्तो तालिम चाँडै सञ्चालन गर्ने बताएका छन् ।