विजयपुर । वराह बचत तथा ऋण सहकारी संस्थाको ‘वराह गोल्डेन प्रोजेक्ट’ विरुद्ध उजुरी परेको छ ।

लगानीकर्ताको निक्षेप फिर्ता नगरी लगानी बराबरको रकम थप्न लगाई दोब्बर मूल्यमा जग्गा बिक्री गर्दै ऋण दायित्व सुल्झाउँदै आएको गुनासोका आधारमा वराह सहकारीविरुद्ध जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको हो । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान नामक संस्थाले धरानस्थित वराह बचत तथा ऋण सहकारी संस्थामाथि छानबिन र आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको पत्र ‘ब्लाष्ट’ लाई प्राप्त भएको छ ।

पत्रमा वराह सहकारीले निक्षेपकर्ताको रकम फिर्ता नदिइरहेको अवस्थामा संस्थाले ‘वराह गोल्डेन प्रोजेक्ट’ नामक कार्यक्रममार्फत् प्रोप्राइटर इन्द्रकुमार राई रहेको जेसिका कन्स्ट्रक्सन एण्ड रियल स्टेट प्रा.लि.मार्फत् जग्गा बिक्रीवितरण गरिरहेको उल्लेख छ ।

सो रियलस्टेट कम्पनीमार्फत् बजार मूल्यभन्दा बढीमा जग्गाको मूल्याङ्कन कायम गरी लगानीकर्तालाई लगानीको ५० प्रतिशत रकम थप्न लगाई कारोबार गरिरहेको गुनासो आएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान नामक संस्थाले बचतकर्ता तथा लगानीकर्ताको गुनासो र सञ्चारमाध्यममा आएका तथ्यहरूका आधारमा आवश्यक छानबिन गरी कारबाही गर्न निवेदन दिएको उल्लेख गरेको छ । अभियानका कोशी प्रदेश अध्यक्ष सपनकुमार तामाङले प्रशासनसमक्ष लिखित उजुरी दिएका हुन् ।