मोरङको पथरी-शनिश्चरे नगरपालिका—१० ऐयाबारीस्थित जालपा सिंहदेवी आधारभूत विद्यालयका संस्थापक स्व.दानबहादुर श्रेष्ठको परिवारले विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको छ ।

बिहीबार विद्यालयमा पुगेर पुस्तकालयका लागि आवश्यक करिब २ सय पुस्तक र पुस्तक राख्ने तीन वटा र्‍याक तथा विभिन्न खेल सामग्री हस्तान्तरण गरिएको हो । जसमा शिशु देखि कक्षा ८ सम्मका विद्यार्थी तथा अन्यका लागि पनि उपयाेगी हुने पुस्तक रहेका छन् ।

संस्थापक श्रेष्ठका जेठा छोरा निरकृष्ण र नाति आयुष्मानले विद्यालयमा आयोजीत कार्यक्रमका बीच प्रधानाध्यापक खगेन्द्र थापा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम पाख्रिनलाई पुस्तक, र्‍याक र बालबालिकाका लागि खेल तथा पाठ्य सामग्री हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण गरिएका मध्ये प्रि- स्कुलका साना बालबालीका बस्ने ८ वटा कुर्सी र २ टेवल स्वर्गीय श्रेष्ठकी नातीनी शुभेच्छा श्रेष्ठले प्रदान गरेकी थिईन। विद्यालयका लागि पुस्तकालयसँगै बालबालिकालाई खेल्नका लागि पिङ र चिप्लेटी गरी करिब २ लाख बराबरकाे सामग्री प्रदान गरिएको हो । 

पुस्तकालयमा विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय वासिन्दाले समेत पढ्न सक्ने व्यवस्था गरिएको हाल हङकङमा बसोबास गर्दै आएका दानबहादुरका कान्छा छोरा डम्बरकृष्ण श्रेष्ठले बताए । धरान र काठमाडौंमा गरी करिब अढाई दशक पत्रकारिता गरेका श्रेष्ठ सानो छँदा आफुले चाहे जस्तो पुस्तक पढ्न नपाएकाले अहिलेका बालबालिका र स्थानीयले पढ्न पाउन भनेर पुस्तकालय स्थापना गरेको बताउँछन् । पुस्तक तथा खेल सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले भने, ‘सानोमा पुस्तक पढ्न मन लाग्थ्यो तर रामायण, महाभारत बाहेक अरु पुस्तक पढ्न पाईएन । अहिलेका बालबालिकाले मेरो जस्तो पीडा भोग्नु नपरोस् भनेर पुस्तकालय स्थापना गर्ने सोंच आएको हो ।’

उनले आफ्नो छोराको ब्रतबन्धका लागि नेपाल आएको मौकामा ब्रतबन्धमा हुने फजुल खर्च घटाएर विद्यालयमा पुस्तकालय र खेल सामग्री प्रदान गरेको बताए ।

library photo

विद्यालयमा प्रदान गरिएका पुस्तक तथा खेलकुद सामग्रीको विवरणसहितकाे खाता हस्तान्तरण गरिंदै ।

पुस्तकालय हस्तान्तरण कार्यक्रममा बोल्दै पथरी शनिश्चरे नगरपालिकाको शिक्षा समिति संयोजक तथा वडा नं १० का अध्यक्ष जीवन खतिवडाले विद्यालयका लागि अति आवश्यक पुस्तकालय र खेल सामग्री सहयोग गरेकोमा संस्थापक श्रेष्ठको परिवारलाई धन्यवाद व्यक्त गरे । उनले सबैको सहकार्यले सामुदायिक विद्यालयहरुको विकास गर्न सकिने बताए । विद्यालयका प्रधानाध्यापक थापाले पुस्तकालयले विद्यार्थीमा पढ्ने बानीको विकास गराउने आशा व्यक्त गरे । उनले भने, ‘विद्यालयमा हालसम्म पुस्तकालय थिएन । पुस्तक र आवश्यक सामग्री पाएका छौं । यसको सदुपयोग गर्ने छौं ।’

हस्तान्तरण कार्यक्रममा संस्थापक श्रेष्ठका छाेरा, बुहारी, नातिनातिनीहरु सहभागी थिए ।