धरान । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

चैत १५ गतेबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्याउनेजस्ता तयारी पूरा भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।

यस वर्षको एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । कुल परीक्षार्थीमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

बोर्डले एसईई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक र सहयोगी कर्मचारी तथा सुरक्षाकर्मीसमेत गरी ७७ हजार ५ सय ५ जना जनशक्ति प्रत्यक्षरूपमा परीक्षा केन्द्रमा खटिने जनाएको छ । शर्माले एसईई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरणसमेत गरिरहेको जानकारी दिए ।