इटहरी । इटहरी उपमहानगरमा स्थानीय सरकार र प्रहरी प्रशासनले नयाँ अभ्यासको थालनी गरेको छ । इटहरीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तेस्रोलिङ्गी समुदायले दुःख दिने गरेको गुनासो बढिरहेको बेला स्थानीय सरकार र प्रहरी प्रशासनले नयाँ अभ्यासको थालनी गरेको हो ।

तेस्रोलिङ्गी समुदायलाई सही मार्गमा ल्याउन उनीहरूलाई नियन्त्रणमा लिनेभन्दा पनि उनीहरूलाई प्रताडित गर्ने र जिस्काउने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । सम्भवतः यो कोशी प्रदेशमा पहिलो र नौलो अभ्यास रहेको स्थानीय सरकारको दाबी छ ।

इलाका प्रहरी कार्यालय इटहरीले २ दिनको अन्तरालमा तेस्रोलिङ्गी समुदायका सदस्यहरूलाई जिस्काउने २७ जना युवाहरूलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका युवाहरू सिरहा, धरान, झापा, इटहरीलगायतका छन् । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । मध्यरातको समयमा सडक आसपास निस्किएका तेस्रोलिङ्गीहरूसँग बस्ने, उनीहरूलाई कलमार्फत् सम्पर्कमा ल्याई यौनधन्दामा लगाउने र सँगै बसेर हो–हल्ला मच्चाउने २७ जना युवाहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले बताए । उनीहरूलाई उचित परामर्शसहित अभिभावक बोलाएर जिम्मा लगाउने गरिएको डिएसपी कार्कीले बताए ।

स्थानीयहरूबाट पटक–पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले दुःख दिने गरेको गुनासो आएपछि उपमहानगर परिसरमा चलाइएको छलफलपछि नयाँ योजनासहित काम थालेको इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले बताए । सर्वसाधारणबाट आएको गुनासोलाई सुन्ने अनि तत्काल समाधान निस्किने गरी कदम चाल्नु पर्दा यो योजना ठीक रहेको नगर प्रमुख पौडेलले बताए ।

विगतमा यस्ता गुनासा आउँदा प्रहरी लगाएर तेस्रोलिङ्गी अल्पसङ्ख्यक समुदायका सदस्यहरूलाई पक्राउ गरे पनि त्यो त्यति प्रभावकारी नभएको र उनीहरूलाई पक्राउ गर्नुको सट्टा सडकमा ल्याउने गिरोहलाई खोजेर वा भेटेको बेला अन द स्पट पक्राउ गर्न थालिएको इटहरी उपमहानगरका प्रमुख पौडेलले बताए । यता प्रहरीका अनुसार अल्पसङ्ख्यक समुदाय राजमार्गमा निकाल्ने र ठाउँ–ठाउँमा परिचालन गर्ने गिरोह नै इटहरीमा सक्रिय रहेका छन् । तेस्रोलिङ्गी समुदायले इटहरीको पश्चिम रोड खेतीखोला वारि र पारि दुई समूह बनाएर बस्ने गरेका छन् । सडकमा तेस्रोलिङ्गी निस्किने बित्तिकै त्यो गिरोह पनि सँगसँगै निस्किएको मौकामा एकै पटक नियन्त्रणमा लिने गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले बताए ।

इटहरीमा १२० भन्दा बढीको सङ्ख्यामा तेस्रो समुदायहरूको बसोबास रहेको छ । हातमा सिप नहुनु ,भए पनि रोजगारी नपाइनु र समाजले सजिलै स्विकार्न नसक्नु यो समुदायको मुख्य चुनौती रहेका छन् ।

दुख दिएको गुनासो
इटहरी उपमहानगरमा विगत केही महिना यता लैङ्गिक तथा यौनिक  अल्पसङ्ख्यक समुदायले दुख दिने गरेको स्थानीयहरूले गुनासो गरेका छन् । मध्यरात पूर्व पश्चिम राजमार्गमा निस्किएर हो–हल्ला गर्ने, गुडिरहेको सवारी साधन छेक्ने, एक्लै भेटेको मान्छेलाई समातेर केरकार गर्ने जस्ता दुःख दिएको गुनासो बढेको हो । इटहरी–९ का दीपक कटुवाल इनरुवाबाट काम सकेर घर फर्कने क्रममा अल्पसङ्ख्यक समुदायका सदस्यहरूले बाटो छेकेर अनावश्यक दुःख दिएको बताए । त्यस्तै इटहरी पश्चिम लाइनका स्थानीयले आफ्नो नाम नबताउने सर्तमा समलिङ्गी अल्पसङ्ख्यक समुदायले रातको ११ बजेपछि इटहरी–इनरुवा रोड नै ब्लक गरेर हो–हल्ला गर्ने, सर्वसाधारण आतङ्कित पार्ने जस्ता काम गरेको बताए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी–इनरुवा सडक क्षेत्रमा सो समुदायको बाक्लो उपस्थिति रहने र हो–हल्ला गर्नुका साथै सर्वसाधारण आतङ्कित गर्नेजस्ता क्रियाकलाप गर्ने गरेको स्थानीयहरूको भनाइ छ ।

यता अल्पसङ्ख्यक समुदायको हक अधिकारबारे बोल्दै आएको निलहिरा समाजले भने यसको खण्डन गरेको छ । समाजका अभियन्ता सुमन तामाङले स्थानीय सरकार देखि सङ्घीय सरकारले कुनै रोजगारी दिन नसक्दा बाध्य भएर सडकमा निस्कनु परेको बताए । उनीहरूले पटक–पटक स्थानीय सरकारसँग रोजगार माग गर्दा पनि सुनुवाइ नै नगरेको उनले बताए । बाँच्नकै लागि भए पनि बाध्य भएर उनीहरू सडकमा निस्किएको तामाङले बताए । राजमार्गमा निस्किए पनि आफ्नो समुदायले सर्वसाधारणमाथि कुनै प्रकारको ज्यादती र हो–हल्ला भने नगरेको तामाङको दाबी छ ।