विराटनगर । सिरहाको लहान नगरपालिका–२१ मोतीपुर घर भएका २२ वर्षीय शिवशङ्कर दासले प्रेमिका २५ वर्षीया नर्स चन्द्रिकाकुमारी दासले धोका दिएपछि हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । शिवशङ्करले प्रेमिकाको हत्या गरेको तीन दिनपछि आत्महत्या गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

प्रेमी शिवशङ्कर विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालअगाडि रहेको होटल फाइनको १०२ नम्बर कोठामा झुन्डिएको अवस्थामा आइतबार राति फेला परेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । शिवशङ्करले आत्महत्या गरेको होटल चन्द्रिकाकुमारीलाई हत्या गरेको कोठादेखि करिब तीन सय मिटर पूर्वमा पर्दछ । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या उनकै प्रेमीबाट भएको देखाएको छ । बिहीबार (चैत १ गते) ४ बजेतिर हत्या गरिए पनि शुक्रबार दिउँसो मात्रै घटना बाहिरिएको थियो ।

घटना बाहिरिएसँगै मोरङ प्रहरीले हत्यामा संलग्नको खोजी गर्ने क्रममा आइतबार राति शिवशङ्करको शव होटलभित्रको कोठाको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

अस्पतालको अर्थो विभागमा कार्यरत चन्द्रिकाको घर सिरहाको फुल्काहकट्टी हो । चन्द्रिका र शिवशङ्करको प्रेम सम्बन्ध चार वर्ष अगाडिदेखि रहेको थियो । उनीहरू नातामा सोल्टी–सोल्टिनी पर्दछन् । गत वैशाखमा वैदेशिक रोजगारमा शिवशङ्कर मलेसिया गएपछि चन्द्रिकाकुमारी सिरहा घर भएका अमित धानुकसँग माया–प्रेममा परेको प्रहरीले बताएको छ । धानुक सिएमए हुन् । शिवशङ्करले प्रेमिका चन्द्रिकालाई औधी माया गर्ने गरेको उनको परिवारले पनि बताएको छ । उनले हातमा प्रेमिकाको नाममा ‘चन्द्रि’ भनेर ट्याटु पनि खोपेका थिए । आफूलाई धोका दिएर अर्कैसँग सम्बन्ध बनाएको थाहा पाएपछि मलेसियाबाट हत्या गर्ने योजना बनाएर शिवशङ्कर आएको अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए । ‘होटलमा आएपछि चन्द्रिकाकुमारीले धोका दिएपछि हत्या गरेको र आफू पनि आत्महत्या गर्ने भनेर चन्द्रिकाको दिदीलाई ह्वाट्स एपबाट भिडियो कल गरेको भिडियो फुटेज पनि प्रहरीसँग छ’–डिएसपी दाहालले भने । मदिरामा लठ्ठ भएर हातमा चुरोट बोकेर भिडियो कलमा कुराकानी गरेको फुटेजमा देखिन्छ ।

अर्कैले हत्या गरेको देखाउन ह्वाट्स एप
शुक्रबार चन्द्रिकाको साथीको ९७०२६१३८२२ नम्बरको ह्वाट्स एपबाट चन्द्रिका बाथरूममा लडेर रक्ताम्य भएको फोटो पठाएका थिए । शिवशङ्करले आफ्नो नामबाट सिमकार्ड झिके पनि अमित धानुकले हत्या गरेको देखाउन उनको नाममा इन्ट्री गरेर चन्द्रिकाको साथीलाई रक्ताम्य भएको फोटो पठाएका थिए । चन्द्रिकाको साथीले घरवालालाई खबर गरे । उनले प्रहरीलाई खबर गरेपछि ढोका खोलेर हेर्दा काटिएको अवस्थामा चन्द्रिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनले प्रयोग गरेको मोबाइल नम्बर (सिम) ट्रयाक गरेर उनी रहेको ठेगाना (लोकेसन) हेर्न थाल्यो । तर, उनले सिमभन्दा पनि वाईफाई भएको स्थानमा जाने र त्यहीँबाट परिवारका सदस्यसँग संवाद गर्ने गरेका थिए । जसले गर्दा प्रहरीलाई उनको लोकेसन एकिन गर्न केही समय लागेको बताइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा शिवशङ्करका दाइ बचिलाल दासलाई प्रहरीले आफ्नो निगरानीमा राखेर ऊसँगको कुराकानीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले शव भेटिएको दिन हत्या शिवशङ्करले गरेको पत्ता लगाइसकेको थियो । तर, उनी मोबाइल अफ गरेर फरार भएपछि प्रहरीलाई अनुसन्धानमा समस्या भएको थियो । बिहीबार र शुक्रबार उनी भारतको आनन्दविहार पुगेको टिकट प्रहरीले फेला पारेको छ । उनी आइतबार बिहान जोगवनी हुँदै विराटनगर आएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तीन सय प्रहरी परिचालन
विभिन्न तवरबाट घटनामा संलग्नको खोजी गर्दै जाँदा शिवशङ्करले प्रयोग गरेको सिमलाई प्राविधिक तवरबाट पनि प्रहरीले अनुसन्धान गर्दै आएको थियो । अनुसन्धान गर्दै जाँदा सीमालगायत विभिन्न ठाउँमा उनको लोकेसन देखायो । यसै क्रममा आइतबार दिउँसो ११ बजे विराटनगरको कञ्चनबारी क्षेत्रमा शिवशङ्करले प्रयोग गरेको फोनको लोकेसन देखियो । त्यसपछि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीसहित तीन सय बढी प्रहरी एक साथ परिचालन भएको डिएसपी दाहालले बताए । ‘सादा पोसाकका प्रहरी टोली परिचालन भएर ठूलो सङ्ख्यामा एक साथ विराटनगरका होटलहरुमा शिवशङ्करको खोजीकार्यमा प्रहरी परिचालन भएको थियो । दिउँसो उनी बसेको होटलमा पनि प्रहरी पुगेको थियो । तर, होटलमा इन्ट्री गर्ने बेलामा नाम परिवर्तन गरेको पाइएको छ । होटल सञ्चालकलाई उनले ओम शाही नाम टिपाएको देखियो’–डिएसपी दाहालले भने ।

यस क्षेत्रबाट फोन देखिएपछि पक्का यहीँ हुनुपर्छ भन्ने एकिनका साथ व्यापक खोजी गर्दै जाँदा सो होटेलमा प्रहरी पुगेर सोधखोज गर्दा एउटा कोठाको ढोका खुलेन । कोठाको पछाडितर्फ रहेको झ्यालमा सिँढी लगाएर हेर्दा भित्र मान्छे देखेपछि ढोका फोडेर हेर्दा झुन्डिएको अवस्थामा शव भेटिएको उनले बताए । उनको शव पोष्टमार्टमपछि सोमबार परिवारलाई बुझाइएको छ ।

हत्यापछि भारत

चन्द्रिकाको बिहीबार हत्या गरेपछि शवलाई भित्रै राखेर शिवशङ्करले ढोकामा ताला लगाइदिए । चाबी चन्द्रिकाको कोठादेखि उत्तरमा सोही फ्ल्याटमा बस्ने चन्द्रिकाको साथी शुभेच्छा चौधरीलाई दिए । ‘चन्द्रिका जोगवनी गएकी छिन् । आएपछि यो चाबी दिनुहोला भन्दै हातमा मलेसियाबाट लिएर आएको सुटकेस बोकेर बिहीबार ४ देखि ५ बजेको बीचमा कोठाबाट निस्किए’ घटनाको अनुसन्धान गर्दै आएका डिएसपी दाहालले भने, ‘त्यसपछि उनी सिधै भारततिर गएको देखिन्छ । त्यहाँ पुगेपछि आफ्नो घरपरिवारका सदस्यलाई आफू भारतको दिल्ली गएको र त्यहीँ रहेको खबर गरेका थिए ।’ उनले परिवारसँग ह्वाट्स एपमा मात्रै कुराकानी गर्ने गरेका थिए । उनी भारतमा भएको परिवारलाई जानकारी दिएपछि मोरङ प्रहरीले सादा पोसाकमा तीन जना प्रहरीको टोली भारत पठाएको थियो । बीच बाटोमा शिवशङ्करले उनका दाजु बचिलाललाई फेसबुक म्यासेन्जरमा आफू विराटनगर आइसकेको बताएपछि भारतको दरभाङ्गाबाट वरिष्ठ सइको नेतृत्वमा गएको सो टोली फर्किएको थियो ।

मलेसियाबाटै कटर
विराटनगर–४ बुढाथोकी मार्गमा डाक्टर धीरेन्द्र गिरीको घरमा नर्स चन्द्रिकाकुमारी २ महिनादेखि कोठा बहाल (डेरा) मा बस्दै आएकी थिइन् । कोठामा उनी एक्लै बस्दै आएकी थिइन् । चन्द्रिकाले धोका दिएपछि शिवशङ्कर २७ फागुनमा काठमाडौं आए । बिहानको माइक्रोबाट सडक मार्ग हुँदै साँझमा विराटनगर उत्रिए । सिधै उनी चन्द्रिका बस्ने कोठामा पुगेका थिए । तीन दिनपछि १ चैत शुक्रबार दिउँसो मदिरा सेवनपछि हत्या गरेको अनुसन्धानले देखाएको डिएसपी दाहालले बताए । ‘मदिरा खाएको बोतल पनि कोठामा भेटिएको छ । हत्यामा प्रयोग भएको कटर पनि घटनास्थलबाट बरामद भएको छ’ डिएसपी दाहालले भने, ‘उक्त कटरमा मेडइन मलेसिया लेखिएको छ ।’ 

शुक्रबार कोठाभित्र बाथरूममा भेटिएको चन्द्रिकाको शवमा घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट थियो ।