इटहरी । तीन दिनयता कोशी प्रदेशका विभिन्न जिल्लामा भीषण आगलागीका घटनाहरू सार्वजनिक भइरहेका छन् । शनिबार मोरङको रङ्गेलीमा विद्युत् सट भई आगलागी हुँदा क्षणभरमै सन्थाल समुदायको २५ घर जलेर नष्ट भए ।

आगलागीका कारण २५ घरपरिवार विस्थापित बनेका छन् भने लाखौंको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी कासीराज दाहालले बताए ।

त्यस्तै सोही दिन भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा तीनजना बालबालिकाले ज्यान गुमाएका छन् । घरमा कोही नभएको बेला भएको आगलागीबाट एकै परिवारका तीनजना बालबालिकाको जलेर मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दीपशिखा कार्की र ३ वर्षका बालक युनिस कार्की रहेको प्रहरीले जनाएको छ । त्यस्तै आइतबार तेह्रथुमको सिम्लेमा आगलागी हुँदा सिङ्गो बस्ती सखाप भएको छ । तेह्रथुम जिल्लाको फेदाप गा. पा.–१ साविकको सिम्ले–७ मा आगलागी हुँदा मयन्तापा गाउँको २६ भन्दा बढी घर जलेर सखाप भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

मौसम बदलीसँगै स्थानीय सरकार सजग नहुनु र पर्याप्त जोखिम न्यूनीकरणका लागि पूर्व तयारी नहुँदा बर्सेनि आगलागीका घटनाहरूबाट लाखौं क्षति हुँदै आएको छ । रङ्गेलीमा आगलागी हुँदा समयमै बारुणयन्त्र नआएको स्थानीयको भनाइ छ । उक्त नगरमा एउटा मात्र बारुणयन्त्र सञ्चालनमा छ ।

आगो लागेको सन्थाल बस्तीबाट उत्तर ४ किलोमिटरको दूरीमा नगरपालिका छ । सन्थाल बस्तीमा आगलागी हुँदै गर्दा तत्काल उद्धारका लागि संयन्त्र नपुग्नु र बारुणयन्त्र पनि समयमै नपुग्नाले २५ घर जलेको रङ्गेलीका सञ्चारकर्मी रविन्द्र बराल बताउँछन् । ‘नगरमा एउटैमात्र बारुण यन्त्र सञ्चालनमा छ । ‘एउटै नगरभित्र एकै पटक धेरै ठाउँमा आगलागी भए सो बारुणयन्त्रले कता भ्याउने कता नभ्याउने ?’–उनको प्रश्न छ । कोशी प्रदेशका १४ जिल्ला अन्तर्गत पहाडीभेगका स्थानीय तहहरूमा अझै पनि बारुणयन्त्रको सेवा छैन । भएका बारुणयन्त्र पनि कुनै बिग्रिएका र कामै नलाग्ने गरी थन्किएर बसेका छन् । इटहरी उपमहानगरमा २ वटा बारुणयन्त्र नियमित सञ्चालनमा छन् । त्यस्तै धरानमा पनि २ वटा सञ्चालनमा रहेका छन् ।

विराटनगर महानगरका १० वटा बारुणयन्त्रमध्ये ३ वटा बिग्रिएर थन्किएको अवस्थामा छन् । धनकुटा नगरपालिकाका २ वटा बारुणयन्त्रमध्ये एउटा बिग्रिएको अवस्थामा छ । इनरुवाका २ मध्ये एक सञ्चालनमा छ भने दुहबीमा पनि २ मध्ये एक सञ्चालनमा छ ।

जाडो मौसम सकिएर सुख्खायाम सुरु भएसँगै सुरु भएको हावाहुरीले विभिन्न जिल्लामा आगलागीका घटनाहरू हुने गरेका छन् । जोखिम न्यूनीकरण अन्तर्गतका सबै अभ्यासका कार्यक्रमहरू सहरकेन्द्रित बन्दा ग्रामीणक्षेत्रमा हुने यस्ता आगलागीजस्ता घटनामा उद्धार गर्न कठिनाइ हुने गरेको छ ।