धरान । परिवर्तनका लागि सामाजिक अभियानले विगत ३ वर्षदेखि धरानका विभिन्न वडाहरूमा निःशुल्क सामाजिक स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

ज्येष्ठ नागरिकहरूका लागि आयोजित यस शिविरमा विशेषगरी मुटु, मधुमेह र रक्तचापका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिन्छ । वरिष्ठ मुटुरोेग विशेषज्ञ डा. प्रशान्त साहले परीक्षण गर्ने यस क्लिनिकमा निःशुल्क रूपमा सुगर परीक्षण र औषधि वितरण गर्ने गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । ‘हामीले बुबाआमाको सुस्वास्थ्य र दीर्घायुको निम्ति विगत ३ वर्षदेखि सामाजिक स्वास्थ्य क्लिनिक आयोजना गरिरहेका छौँ’–बरालले भने ।

शिविरमा बिरामी हुनुभन्दा रोग लाग्न नदिन विशेषगरी खानपान सम्बन्धमा डाक्टर साहले सुझाव दिने गरेका छन् । पाक्षिकरूपमा आयोजना हुने यो शिविर धरानका वडाहरू र सामाजिक संस्थाहरूसँग सहकार्य गर्ने गरिन्छ । सोही क्रममा शनिबार धरान रेडिमेड व्यापार सङ्घको सहकार्यमा निःशुल्क सामाजिक स्वास्थ्य शिविरको ५४ औं संस्करण सम्पन्न भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको भवनमा आयोजित शिविरमा ९५ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक सुशिर बरालले बताए । बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्स उषा चौधरी र स्वेता भण्डारीले रक्तचाप र सुगर परीक्षण गरेका थिए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न शिविरको समापन कार्यक्रममा धरान रेडीमेड सङ्घका अध्यक्ष ज्ञानशोभा शाक्यले यस्तो प्रकारको कार्यक्रममा सहकार्य गर्न पाएकोमा सम्पूर्णप्रति आभार व्यक्त गरेकी थिइन् । कार्यक्रममा मोहन श्रेष्ठ, वर्षा श्रेष्ठ, हेम ढकाल, जेनिश शाक्यलगायतका अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।