धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटकसँगै विदेशबाट बढीभन्दा बढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न पर्यटक प्रवद्र्धकसँग आग्रह गरेका छन् ।

नवनियुक्त पर्यटन प्रवद्र्धकलाई आइतबार मन्त्रालयमा नियुक्ति पत्र, परिचय–पत्र र राष्ट्रिय झण्डा प्रदान गर्दै मन्त्री तामाङले मुलुकको हित र पर्यटन प्रवद्र्धनका निम्ति सक्रियरूपमा लाग्न निर्देशन दिए । मन्त्री तामाङले प्रवद्र्धकहरूलाई देश र जनताको पक्षमा काम गर्न आग्रह गरे । प्रवद्र्धकको तर्फबाट वेलायतका लागि नियुक्त सोमनाथ सापकोटाले देशको सर्वोपरी हितलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको पर्यटन प्रवद्र्धन गर्न यही फागुन १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट सरकारले विभिन्न मुलुकमा २९ प्रवद्र्धक नियुक्त गरेको थियो । पर्यटन प्रवद्र्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरीय निर्णय गर्दै नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।