विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विवादित हाडजोर्नी सर्जन डा. रोशनप्रसाद साह कलवारलाई कारबाहीको प्रक्रिया सुरु गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले डा.कलवारका विषयमा समाचार सार्वजनिक भएपछि कार्यकारिणी समितिको बैठक बोलाएर कारबाहीको प्रक्रिया अघि बढाएको बताएका छन् ।

आइतबार नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले बुझाएको ध्यानाकर्षण बुझ्दै डा. गिरीले कारबाहीको प्रक्रिया अघि बढिसकेको जानकारी गराएका हुन् । डा.कलवारले बीपी प्रतिष्ठान ऐन २०४९ र नियमावली २०५५ विपरीत बीपीको गेटमा नै प्राइभेट ‘टाटा डायग्नोष्टिक सेण्टर’ चलाउँदै आएका छन् ।

प्रतिष्ठानलाई चुनौती दिँदै सञ्चालन गरेको ‘टाटा डायग्नोष्टिक सेण्टर’ सञ्चालन गरेको विषयमा ब्लाष्ट दैनिक र ‘कपुरीन्यूज’ मा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपश्चात् डा. कलवार समाचार लेख्ने पत्रकारविरुद्ध सामाजिक सञ्जालमा उत्रिएका छन् ।

उनले पत्रकारलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेका छन् । उक्त विषय नेपाल पत्रकार महासङ्घ सुनसरीका सभापति जनकऋषि राई, केन्द्रीय पार्षद् गोपाल दाहाल, सुनसरी शाखा सह–सचिव भोला श्रेष्ठ, तीर्थ कार्की, पूर्व अग्रज पत्रकार हर्ष सुब्बा, सुनसरी शाखाका पूर्व अध्यक्ष केशव घिमिरे, राजेश विद्रोही, सुनसरी शाखाका सल्लाहकार सन्तोष काफ्ले, फोटो पत्रकार महासङ्घ केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङ, सुनसरी अध्यक्ष विकास चाम्लिङलगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ध्यानाकर्षण पत्रमा ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नन्प्राक्टिक्सिङ संस्था भएकाले डा.कलवारले बाहिर काम गर्नु गलत भएको उल्लेख छ । फागुन २५ गते प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाद्वारा जारी विज्ञप्तिमा पनि प्रतिष्ठानका कर्मचारीले बाहिर काम गर्न नमिल्ने उल्लेख छ ।

अस्पतालका डा. कलवारले प्रतिष्ठानको प्रवेशद्वारनजिकै टाटा डाइग्नोष्टिक सेन्टर सञ्चालन गरिरहेका छन् । त्यस विषयमा ब्लाष्ट टाइम्स दैनिक र कपुरी न्यूज डटकम अनलाइनले समाचार प्रकाशित गरेका थिए । प्रकाशित समाचारका विषयलाई लिएर डा. कलवारले पत्रकार खिलानाथ विक र रश्मी प्रधानलाई सामाजिक सञ्जालमार्फत् विभिन्न लाञ्छना, धाकधम्की तथा गालीबेइजती गरिरहेको महासङ्घले प्रष्ट पारेको छ ।

‘कानूनतः गर्न नमिल्ने कार्य गरेर पत्रकारहरूमाथि नचाहिँदो भ्रम सिर्जना गरी आफूलाई चोख्याउने किसिमले दुष्प्रचार गरेकोप्रति हाम्रो गम्भीर आपत्ति छ’–ध्यानाकर्षण पत्रमा भनिएको छ । डा. कलवारले सामाजिक सञ्जालमा पत्रकारहरूमाथि गालीगलौज गर्ने, मानहानि तथा बेइजती गर्ने काम गरेको महासङ्घको ठहर छ । यस्तो विषयलाई मुलुकी अपराध संहिता २०७४ को गाली बेइजतीसम्बन्धी कसूरको दफा ३०६ को २ (क) मा गाली बेइजतीसम्बन्धी कसूर मानेको छ । यस्तै, विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ का १ ले पनि कसैको मानहानि हुने किसिमले गरिएको कार्यलाई साइबर अपराध भनी परिभाषित गरेको छ । समाचार लेखेको विषयलाई लिएर मानहानि भएको भए कानूनी बाटो अवलम्बन गर्ने अधिकार नेपालको कानून तथा संविधानले प्रष्ट दिएको अवस्थामा सामाजिक सञ्जालमार्फत् धाकधम्की र बेइजती गर्ने कार्य निन्दनीय भएको महासङ्घको ठहर छ ।

प्रतिष्ठान ऐन २०४९ दफा १२ को उपदफा २ को १ मा भएको व्यवस्था र व्यवस्था उपर गरिएको स्पष्टीकरणलाई डा.कलवारले चुनौती दिँदै मेडिकल व्यवसाय गरेको देखिएको समाचारमा आफैले स्वीकार गरेकोप्रति प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ । महासङ्घले डा. कलवारमाथि निष्पक्ष छानबिन गरी ऐनमा भएको व्यवस्था बमोजिम कारबाहीको माग पनि गरेको छ ।

डा. कलवारविरुद्ध प्रहरीमा उजुरी
प्रतिष्ठानका डा. कलवारविरुद्ध प्रहरीमा उजुरी परेको छ । पत्रकार खिलानाथ विक र रश्मी प्रधानले डा. कलवारलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

प्रतिष्ठानको ऐन र नियमावलीविपरीत प्रतिष्ठानको गेटमा टाटा डायाग्नोष्टिक सेण्टर सञ्चालन गरेको समाचारको विषयमा डा. कलवारले तल्लोस्तरको शब्द प्रयोग गरी गालीगालौज गरेका थिए । विक र प्रधानले डा. कलवारको क्रियाकलाप मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ को २ (क) मा गाली बेइजतीसम्बन्धी कसूर भएकाले कानूनी उपचारको माग गर्दै उजुरी दिएको बताएका छन् ।

यस्तै विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ का १ ले पनि कसैको मानहानि हुने किसिमले गरिएको कार्यलाई साइबर अपराध भनी परिभाषित गरेकोले न्यायको माग गरी उजुरी दिएका हुन् । यस्तै पत्रकार विक र प्रधानले शान्ति सुरक्षाको माग गरी इलाका प्रशासन कार्यालय धरानमा पनि निवेदन दिएका छन् । डा. कलवारले सामाजिक सञ्जाल फेसबुकमा अपमानजनक शब्दहरू लेख्दै भौतिक आक्रमण गर्ने धम्की दिएकाले शान्ति सुरक्षाको माग गरी इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरेलाई निवेदन बुझाएका हुन् । पत्र बुझ्दै घिमिरेले कानून विधिअनुसार कारबाही प्रक्रिया अगि बढाउने र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने बताए ।