विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अर्थोपोडिक डा. रोशनप्रसाद कलवारले प्रतिष्ठानको ऐन र नियमावली विपरीत ‘डाइग्नोस्टिक सेन्टर’ सञ्चालनमा ल्याएका छन् ।

प्रतिष्ठानको ऐन २०४९ र नियमावली २०५५ ले भने प्रतिष्ठानका कार्यरत चिकित्सकहरूलाई क्लिनिक तथा डाइग्नोस्टिक सेन्टर खोल्न अनुमति प्रदान गर्दैन । बीपी नन्प्राक्टिसिङ कलेज हो । उनले प्रतिष्ठानको मूल गेटनजिकै टाटा नामक डाइग्नोस्टिक सेन्टर दर्ता गरी सञ्चालनमा ल्याएका हुन् । उनले आन्दोलन स्वरूप डाइग्नोस्टिक सेन्टर खोलेको बताउँदै आइरहेका छन् । यस विषयमा बुझ्न ब्लाष्टकर्मीले फोनसम्पर्क गर्दा ‘जे मन लाग्छ, त्यही लेख्नू’ भन्दै फोन काटे । टाटाका वास्तविक सञ्चालक भने नन्दकुमार साह हुन् तर, उनी मिटरब्याजीको अभियोगमा गतवर्ष नै जेल चलान भएपछि बन्द रहेको थियो ।

प्रतिष्ठान नियमावली २०५५ को नियम १०.२६ को उपनियम ४ मा ‘कुनै शिक्षक वा कर्मचारीले आफ्नो कार्यालयको सम्बन्धित कामबाहेक प्राइभेट प्राक्टिस, ट्युसन र अन्य कुनै प्रकारको वैतनिक वा अवैतनिक काम गर्नु हुँदैन’ भन्ने उल्लेख छ । यस्तै ऐनमा ‘कुनै पनि शिक्षक कर्मचारी निजी व्यवसाय गर्न नपाउने’ उल्लेख छ । ऐनको दफा १२ को उपदफा १ बमोजिम नियुक्त शिक्षक तथा कर्मचारीहरू ‘नन्प्राक्टिसिङ’ हुनेछन् भनिएको छ ।

ऐनमा ‘यस उपदफाको प्रयोजनको लागि ‘नन्प्राक्टिसिङ’ भन्नाले प्रतिष्ठानका पदीय कामबाहेक पारिश्रमिक लिई वा नलिई अन्यन्त्र कुनै चिकित्सा (मेडिकल प्राक्टिस) अध्यापन (प्राइभेट ट्युसन) लगायतका अन्य कुनै प्रकारको निजी व्यवसाय गर्न नपाइने सम्झनु पर्ने’ स्पष्टीकरणमा खुलाइएको छ । सेन्टरको उद्घाटन कात्तिकमै गरिएको थियो । ब्लाष्टकर्मीले ‘डाइग्नोस्टिक सेन्टर’ की एक कर्मचारीसँग कुरा गर्दा डा. कलवारले नै सञ्चालनमा ल्याएको पुष्टि गरिन् ।

प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले चिकित्सकले बाहिर डायग्नोस्टिक सेन्टर  सञ्चालन गरेको अनौपचारिक जानकारी आएको बताए । उनले प्रतिष्ठानका कार्यरत शिक्षक, चिकित्सकले बाहिर काम नगरून् भनेर नै ‘आकर्षण भत्ता’ दिएको बताउँदै भने, ‘बाहिर पनि काम गर्छन् भने कानूनसम्मत भएन ।’ उनले थपे, ‘यस वियषयमा छलफल भएको छ । प्रमाण खोजिरहेका छौँ ।’ डा. कलवारले अन्य मिडियाकर्मीले फोनसम्पर्क गर्दा भने ‘बीपी प्रतिष्ठानको दास’ नभएको र आन्दोलनस्वरूप क्लिनिक खोलेको बताएका थिए ।