विराटनगर । सहमतिविपरीत मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्दा मोरङ कटहरी गाउँपालिका–६ को दुईवटा बस्तीको दुई सयभन्दा बढी घर जोखिममा परेको छ ।

ठेकेदार कम्पनी श्रीआर.सी. सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रा.लि.ले लोहन्द्रा खोलामा प्राप्त गरेको ठेक्का सम्झौताभन्दा बाहिर गई उत्खनन् गर्दा कटहरीको चतारी घाट र सतार बस्ती जोखिममा परेको हो । उक्त दुई बस्तीमा दुई सयभन्दा बढी घर छन् । सहमतिविपरीत प्रयोग भएका उपकरण गाउँपालिकाले अनुगमनको क्रममा नियन्त्रणमा लिएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीको नेतृत्वमा प्राविधिकसहित बुधबार स्थलगत निरीक्षण गरेको थियो ।

‘आईईई प्रतिवेदन र सहमतिविपरीत कम्पनीले उत्खनन् गरेको पाइएको छ । १० देखि १५ फिट गहिरो खाडल बनाएर उत्खनन् गरेको अनुगमनको क्रममा भेटिएको छ । उपकरणहरू उत्खनन्मा प्रयोग गर्न नपाइने लिखित सम्झौता गरिएको थियो तर, यहाँ ट्याक्टर र टिपर प्रयोग भएको भेटियो’ अध्यक्ष चौधरीले भने, ‘उपकरण र ट्याक्टर नियन्त्रण गरेर ल्याएका छौँ ।’ अवैध उत्खनन्ले बस्ती जोखिममा परेको कटहरी गाउँपालिका–६ की रेनुका हस्तीले बताइन् । यहाँबाट दैनिक जेसीबी प्रयोग गरी ट्याक्टर र टिपरमा माटो (भरोट) गरी लाने गरेको उनले बताइन् ।

‘घरछेउमा मेसिन लगाएर ठूला–ठूला खाडल हुने गरी खनिदिने गरेको छ । यसरी नखनिदिनू भन्दा हामीलाई हेप्ने गर्दछन्’ अनुगमनमा पुगेका सरोकारवालाहरूसँग गुनासो सुनाउँदै हस्तीले भनिन्, ‘बिहान ७ देखि रातिसम्म खन्छन् ।’ जथाभावी उत्खनन्ले त्यस क्षेत्रमा ठूल्ठूला खाल्डाखुल्डी परेको भन्दै स्थानीयले गुनासो गरेका थिए । उत्खनन् रोक्न खोज्दा उल्टै धम्क्याउने गरेको स्थानीयको आरोप छ । धनपालथान र कटहरी गाउँपालिकामा पर्ने लोहन्द्रा खोलाबाट बालुवा र भरौट झिक्ने ठेक्का २०८० मङ्सिर ८ गते प्रा.लि.ले प्राप्त गरेको थियो । प्रा.लि.ले एक करोड ३२ लाख १६ हजार पाँच सय ९२ रुपैयाँमा ठेक्का पारेको छ । ठेक्का सम्झौता अवधि २०८१ जेठ मसान्तसम्म छ ।

ठेक्का एउटाको, उत्खनन् अर्कैले

श्रीआर.सी. सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का प्राप्त गरे पनि खोलामा कटहरीका स्थानीय नेपाली काङ्ग्रेस कटहरी–२ का सभापति युवा नेता सञ्जय मण्डलले काम गरिरहेका छन् । सम्झौता पत्रमा सप्लायर्सको तर्फबाट प्रतिनिधि रामकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । ठेकेदार मण्डलले कटर प्रयोग गरेको स्वीकारे पनि ठूलो मेसिन प्रयोग नगरेको दाबी गरे । ‘कटर मेसिनले सम्याउने मात्र काम गरेको हो । हामीमाथि झुटो आरोप लगाई गा.पा. अध्यक्षले फसाउन खोजेका छन्’ उनले भने, ‘अहिलेसम्म कुनै उपकरण लगाएको छैन ।’ कम्पनीलाई काम गर्न नदिने र दुःख दिए ठेक्का रद्द गरेर अदालत जाने उनको भनाइ छ ।

कार्यपालिका बैठकबाट कारबाही गर्ने तयारी
कटहरी गाउँपालिकाले सहमतिविपरीत उपकरण प्रयोग गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने भएको छ । स्थलगत निरीक्षणपश्चात् कार्यपालिका बैठकले ठेकेदार कम्पनीलाई कारबाही गरिने कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘हामीले प्राविधिकसहित निरीक्षण गरेपछि कार्यपालिका बैठकबाट कारबाही गर्ने भएका छौं’–अध्यक्ष चौधरीले भने । ‘कुन दफा लगाएर कारबाही गर्ने हो । त्यस विषयमा निर्णय गर्नको लागि कार्यपालिका बैठकमा लगेर कारबाही गरिनेछ’–अध्यक्ष चौधरीले भने ।

अनुगमनमा गाउँपालिका अध्यक्ष चौधरीसहित जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशी, मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरीका एसपी विश्वबन्धु खड्का, राष्ट्रिय अनुसन्धानका निर्देशक तिलक शर्मा प्रसाईं, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहलगायतको टोली पुगेको थियो । उत्खनन्मा प्रयोग भएका उपकरण र ट्याक्टर कटहरी गाउँपालिकामा राखिएका छन् ।