इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाले पालिकाको दिगो विकास लक्षित कार्यलाई प्राथमिकता दिएको छ ।

जनमैत्री कार्यलाई प्राथमिकतामा राखेको भोक्राहा नरसिंह गाउँपालिकाले गाउँबासीको जीविकोपार्जन सहयोगी कार्यक्रमका साथै समग्र पालिका केन्द्रित विकासे गतिविधिलाई बढावा दिएको छ । विपन्न परिवारका लागि बिउ पुँजीका रूपमा बोयर पाठा र पाठी वितरण गरेको भोक्राहाले आधुनिक पशुपालनका लागि किसानलक्षित सहयोग प्याकेजसमेत उपलब्ध गराएको छ । क्रमशः गोठ सुधार, उन्नत पशुपालन र दूध तथा दूधजन्य परिकारको बिक्री वितरणमा किसानमैत्री प्याकेजको तयारीमा जुटेको गाउँपालिकाले पहिलो चरणमा मोटरसहितको इलेक्ट्रिक च्याप कटर मेसिन वितरण गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेका अनुसार आ.व.२०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार मोटरसहितको च्याप कटर मेसिन वितरण गरेको हो । उनले गाउँपालिकाले समग्र क्षेत्रको विकासलाई प्राथमिकतामा राखी कार्यक्रमहरू अघि बढाउँदै आएको बताए ।

पशु सेवा शाखाका बुद्धिमान कार्कीसहितको उपस्थितिमा किसानका लागि उक्त सामग्रीहरू वितरण गरेको गाउँपालिकाले जनाएको छ । सामग्री वितरण गर्ने क्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँले भोक्राहा नरसिंह गाउँपालिका गाउँबासीको समग्र हितमुखी कार्यक्रममा केन्द्रित भएको बताए ।

उनले भने, ‘केही काम गरेन, गर्न सकेन भन्नेहरूको मुख टाल्न सकिन्न । काम गरेर जनताको मन जित्ने हो । पालिकाले गाउँबासीको हितमुखी काम गर्दैछ । जसको नतिजा सबैसामु केही समयमा छर्लङ्ग हुनेछ ।’ सरकारी लगानीमा गाउँपालिकाको क्षेत्रभित्र खुलेको देशकै ठूलो विद्युत् आयोजना विद्युत् प्रसारण लाइनबाट स्थानीयले लाभ लिने गरी काम भैरहेको बताएका अध्यक्ष मियाँले समग्रमा गाउँपालिकाको आम्दानी मात्रै नभई पालिकाभित्रै रोजगारीका अवसरहरू सिर्जना हुँदै गएको बताए । उनले भोक्राहाबाट सञ्चालनमा आउन लागेको ठूलो लगानीको सप्तकोसी न्यूरो हस्पिटलबाट समेत गाउँवासीको हकमा सहज र सुलभ स्वास्थ्य सेवा दिलाउने गरी गाउँपालिकाले पहल गरिरहेको बताए ।

किसानी पेसामा संलग्न भई मलखादको समस्यामा रहेका किसानको हकमा पालिकाले यथेष्ट सहयोग गर्ने र सिँचाइ अभाव भोग्दै आएका किसान लक्षित गरी डिप बोरिङ जडानको कामसमेत अघि बढाइएको उनले बताए । गाउँपालिकाले दिएको जानकारीअनुसार सिँचाइ अभाव रहेको भेगलाई लक्षित गरी ठाउँ–ठाउँमा डिप बोरिङ जडानको प्रक्रिया अघि बढाइएको छ । जसले कृषि पेशा अँगाल्नेलाई थप राहत पुग्नेछ । गाउँपालिकाले गाउँवासीको हकमा विद्युत् सेवाको सहजता, छुटको व्यवस्था र पोलबत्तीको दीर्घकालीन समाधानका क्षेत्रमा समेत काम अघि बढाएको जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष सुनिताकुमारी उराँवले पालिकाले गाउँबासीको समग्र हित केन्द्रित मुद्दालाई अघि बढाउँदै आएको बताइन् । उनले पालिकाका आफूसहितका जननिर्वाचित पदाधिकारीको मूल एजेन्डा र प्राथमिकता नै गाउँपालिका र गाउँबासीको हित तथा  विकास लक्षित रहेको बताइन् ।

विपन्न परिवारको हकमा निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाइएको बताएकी उराँवले महिला सशक्तीकरण र क्षमता विकास तथा स्वरोजगारमूलक कार्यक्रमलाई गाउँपालिकामार्फत् अघि बढाउँदै लगिएको बताइन् ।

गाउँपालिका अध्यक्ष मियाँले अघिल्लो कार्यकालका जनप्रतिनिधिले जनचाहना अनुरूपका उपलब्धि दिलाउन नसक्दा बढेको गाउँवासीको वितृष्णा क्रमशः कम हुँदै गएको बताए । उनले गाउँमै उच्चशिक्षा अध्ययन, कम्प्युटरसहितको अङ्ग्रेजी माध्यमको पढाइको व्यवस्था मिलाइएको बताए । उनले उच्चशिक्षा अध्ययन सहजताका लागि गाउँमै मुस्लिम पाठ्यक्रमसमेत लागू गरिएको जानकारी दिए ।

अध्यक्ष मियाँले गाउँपालिकाले सडक विस्तार, कालोपत्रेसहितका कार्यलाई समेत अघि बढाएको बताए । उनले प्रदेश र केन्द्र सरकारबाट सहयोग जुटाएर पालिकाको समग्र विकास केन्द्रित योजनाहरू समेत सञ्चालनमा ल्याएको बताए । उनले विकास निर्माणमा गाउँबासीको साथ र सहयोग प्राप्त भैरहेकोले ठोस उपलब्धि देखापर्न थालेको बताए ।