विराटनगर । विराटनगरस्थित अर्किड स्कुलले वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शनिबार स्कुल परिसरमा दिनभरि विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।

स्कुलमा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, नाटक र फेसन शो प्रस्तुत गरी सहभागी भएका अभिभावक र अतिथिहरूलाई दिनभर मनोरञ्जन प्रदान गरे । कार्यक्रममा बोल्दै प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले निजी विद्यालयहरूले राष्ट्र निर्माणमा ठूलो योगदान पुर्याएको बताए ।

गुणस्तरीय र रोजगारमुखी शिक्षा प्रदान गरेर निजी विद्यालयहरूले दक्ष जनशक्ति उत्पादन गरेको उनले बताए । कार्यक्रममा बोल्दै अर्किड कलेजका प्रिन्सिपल दीपेश बास्तोलाले अभिभावकको सहयोग, शिक्षक र विद्यार्थीहरूको मिहिनेतका कारणले स्कुलले सफलता प्राप्त गरेको बताए । गुणस्तरीय शिक्षा प्रदान गरेका कारणले विद्यार्थीहरूले सधँै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै अर्किड स्कुलका प्रिन्सिपल सीएम श्रेष्ठले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै प्रविधियुक्त, सीपमूलक र नैतिक शिक्षा प्रदान गरेर अगाडि बढेको बताए । गुणस्तरीय शिक्षा प्रदानमा कुनै पनि कसर बाँकी नराखी स्कुल अगाडि बढेको उनले बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिका–१० का वडाध्यक्ष अर्जुन गिरी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षकहरूको उपस्थिति रहेको थियो ।