आफूले पाउँदै नपाएको ‘प्राध्यापक’ पद पाएको भनेर प्रयोग गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई विशेष अदालतले सफाइ दिएपछि उनलाई प्रतिष्ठानका कर्मचारी, शिक्षकहरुले स्वागत गरेका छन् । प्रतिष्ठानमा पुनर्बहाली भएलगत्तै उनले लामो समय आन्दोलन गरेका प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकलाई बढुवा प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् । उनकै पालामा अघि बढेको कर्मचारीको बढुवा प्रक्रिया उनी निलम्बनमा परेसँगै विवादमा परेको थियो । त्यसपछि लामो समय चिकित्सक र कर्मचारीले आन्दोलन गर्दा बिरामी र विद्यार्थी मारमा परेका थिए । लामो समय प्रतिष्ठानको सेवा ठप्प पारेर हजारौं बिरामीलाई उपचार सेवाबाट बञ्चित गराइयो । त्यसले प्रतिष्ठानको छवि धुमिल बनेको छ ।

प्रतिष्ठानका उपकुलपति गिरीले बढुवा प्रक्रिया अगाडि बढाउने भनेपनि खासमा यो प्रक्रिया नै विवादित छ । नेपालको संविधानले कुनै पनि नियुक्ति र बढुवा प्रक्रियामा लोकसेवा आयोगको उपस्थिति अनिवार्य हुनु पर्ने प्रष्टरुपमा उल्लेख गरेको छ । संविधानको सोही मर्मअनुरुप नै आयोगले प्रतिष्ठानलाई नयाँ नियमावली बनाउन पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेर ढिलो नियमावली बनाइयो । उक्त नियमावली स्वास्थ्य मन्त्रालय र आयोगमा पुगे पनि सिनेट बैठकबाट पारित भइसकेको छैन । सिनेटबाट पारित गरेर नयाँ नियमावलीअनुसार बढुवा, नियुक्ति गर्नुपर्नेमा त्यतातिर नलागी पुरानै नियमावलीअनुसार बढुवा हुनुपर्ने माग स्वार्थ प्रेरित रहेको देखिन्छ । पुरानो नियमावलीअनुसार बढुवा गर्दा त्यहाँ लोकसेवाको उपस्थिति अनिवार्य हुँदैन । त्यसो हुँदा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत बढुवाको सूचना निकाल्ने, अन्तरवार्ता लिने, अङ्क दिने र नतिजा प्रकाशन गर्ने कार्यमा पदाधिकारीको हात हुन्छ । यसमा चलखेल हुने सम्भावना रहन्छ । आर्थिक चलखेल गरेर वा नगरी आफू नजिकका, आफूले चाहेका मान्छेको बढुवा गर्न पुरानो नियमावलीले सहज बनाइदिन्छ तर, नयाँ नियमावलीअनुसार बढुवा प्रक्रियामा जाँदा लोकसेवाको उपस्थिति अनिवार्य हुन्छ । त्यसैले यसमा चलखेल गर्न सहज हुँदैन । यस्तो विवादित विषयमा उपकुलपतिले हतार गर्नु उचित हुँदैन ।

उपकुलपति गिरी आफै विवादमुक्त व्यक्ति होइनन् । उनका विरूद्ध प्रतिष्ठानकै चिकित्सक, कर्मचारीले विभिन्न आरोप लगाउँदै आन्दोलन गरेको पनि भुल्नु हुँदैन । अहिले पुनर्बहाली भएलगत्तै कर्मचारी र शिक्षकलाई बढुवा प्रक्रिया अघि बढाएर खुसी बनाउन खोजिए पनि यस्तो प्रक्रिया कानूनसम्मत हुनु जरूरी छ । अहिले अदालतले सफाइ दिए पनि उनका विगतका गतिविधि जगजाहेर छन् । त्यसैले उनी फेरि पनि विवादित गतिविधिमा लाग्नुभन्दा विगतका कमी कमजोरीलाई सच्याउँदै प्रतिष्ठानको स्वास्थ्य सेवा सुधारमा केन्द्रित हुनु आवश्यक छ । आन्दोलन र विभिन्न दृश्य अदृश्य चलखेलका कारण प्रतिष्ठान धरासायी बनिसकेको छ । प्रतिष्ठानको साख फर्काउनु अहिलेको प्रमुख चुनौती हो । प्रतिष्ठानको खस्किएको साख फर्काउन उपकुलपति गिरी र अन्य पदाधिकारी एकजुट हुनु आवश्यक छ । विगतमा जस्तै आपसी विवादमा अल्झिरहने हो भने प्रतिष्ठान झनै धरासायी बन्ने निश्चित छ । त्यसैले अब विगतमा जस्तो गल्ती गर्ने छुट कसैलाई छैन । प्रतिष्ठान सुधार्न सबै एकजुट बन्नुको विकल्प छैन ।