विराटनगर । विराटनगर–५ स्थित ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।

स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्यो । स्कुल परिसर भित्र विद्यार्थीहरूले बनाएको विज्ञानसँग सम्बन्धी विभिन्न एक दर्जन बढी प्रदर्शनी रहेको प्रिन्सिपल दीपक पोखरेलले जानकारी दिए । सोही अवसरमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरी सहभागी भएका अभिभावहरूलाई दिनभरि भरपूर मनोरञ्जन प्रदान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्क गौतमले विद्यार्थीहरूलाई सीप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिए । यस्तै अनमोल स्पेशल एजुकेसन सेन्टर प्रमुख डाक्टर अर्चना रिमालले एनोजाइटिकको समस्याले विद्यार्थीलाई स्कुल जान नसक्ने समस्या पछिल्लो समय बढ्दै गएको बताइन् । यस्तो समस्या हुन नदिन अभिभावकहरूले विशेषगरी आफ्ना छोराछोरीलाई हेरचार गर्नुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा विराटनगर महानगरपालिका शिक्षा शाखाका पूर्व प्रमुख दुर्गाप्रसाद खतिवडालगायत शिक्षकहरूको उपस्थिति रहेको थियो । कक्षा १२ सम्म रहेको ग्रिनल्याण्डमा झण्डै २ हजार विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल पोखरेलले जानकारी दिए ।