धरान । धरानमा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिएको छ ।

धरान–८ तीनकुनेस्थित सिरिजङ्गाको सालिकमा माल्यार्पण गर्दै महोत्सवको सुरुवात गरिएको छ । त्यसक्रममा विभिन्न जातजातिको झाँकीसहित ¥याली निकालिएको आयोजक नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक राजन मुकारुङले जानकारी दिए । उनका अनुसार महोत्सवमा ४४ भाषाभाषीका कविताहरू सहभागी थिए ।

डोटेली, अछामी, संस्कृतदेखि चाम्लिङ, बान्तवा, ताजपुरिया, उराव, राजवंशी, लिम्बू, सन्थाललगायत भाषाभाषीका कविता सुनाइए । यसैबीच मातृभाषामा योगदान दिएका डा. योगेन्द्र प्रधानाङ्ग र बेचन उरावलाई जनही १ लाख रुपैयाँ राशिको पुरस्कारसहित सम्मान–पत्रले सम्मानित गरिएको छ ।

कार्यक्रमका सभाध्यक्ष प्रतिष्ठानका कुलपति भूपाल राई, ज्येष्ठ नागरिक चन्द्रमाया कटुवाल, धरान उपमहानगरका प्रमुख हर्कराज राईलगायतले सम्मान–पत्रले सम्मानित गरे । यस्तै सरकारी कामकाजको भाषामा मातृभाषाको प्रयोग अवसर र चुनौतीहरू विषयमा अमृत योञ्जन र नेपालमा मातृभाषा साहित्यको अवस्था विषयमा प्राज्ञ मुनराज शेर्माले कार्यपत्र प्रस्तुत गरे ।

यस्तै स्थानीय तहमा मातृभाषाको अवस्था विषयक विचार विमर्श कार्यक्रम पनि गरिएको थियो । जसमा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, आठराई त्रिवेणी गाउँपालिकाका दीपेन पोमो लिम्बू, हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष सुनिता किराती, देवानगञ्ज गाउँपालिकाका वेचन मेहता, धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघालगायत सहभागी थिए ।