विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ ।

कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट हुने १ सय ३८ जना विद्यार्थीलाई मङ्गलबार सम्मान र पुरस्कार वितरण गरेको हो । सम्मानित हुनेमा १ सय १८ जना विज्ञान सङ्काय र २० जना व्यवस्थापन सङ्कायका कक्षा ११ र १२ का विद्यार्थीहरू रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कलेजले निश्चित मापदण्ड तय गरी उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गरेको हो ।

कक्षा ११ र १२ मा २ हजार ५ सय विद्यार्थीहरू अध्ययनरत रहेकामध्ये ७५ प्रतिशत अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको कलेजले जनाएको छ । उत्कृष्टमध्ये पनि प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट दशभित्र पर्ने ४२ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ । ६० प्रतिशत अङ्क ल्याउने तीन सयभन्दा बढी विद्यार्थीहरूलाई कलेजले यसअघि छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।

कोशी प्रदेशभित्र कक्षा ११ मा सबैभन्दा बढी विद्यार्थी भर्ना हुने कलेजको रूपमा चिनिएको शिक्षादीपले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङमा पनि छात्रवृत्तिमा नाम निकाल्न सफल छन् । त्यसैले गर्दा कलेजले हप्ताको प्रत्येक शनिबार मेडिकल र इन्जिनियरिङको तयारी कक्षा हुने गरेको प्रिन्सिपल खड्काले बताए । ११ र १२ कक्षाका विद्यार्थीहरूको लागि तयारी कक्षा पनि सुरु गरिएको कलेजले जनाएको छ ।

‘विद्यार्थीहरूलाई दक्ष प्राध्यापक र शिक्षकहरूबाट पठन–पाठन र विद्यार्थीहरूको मिहिनेतको कारणले कलेजले सफलता पाएको हो’ प्रिन्सिपल खड्काले भने, ‘हामीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसर बाँकी राखेका छैनौँ । विद्यार्थीहरूको इच्छा र चाहना हामीले शिक्षामा पु¥याएका छौँ ।’ उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार र सम्मान कलेजका प्रिन्सिपल खड्का, विज्ञान सङ्कायका संयोजक नवीन रोय, व्यवस्थापन सङ्कायका प्रमुख शङ्कर भट्टराई, कलेजका निर्देशकहरू शैलेन्द्र सिवाकोटी, भूपेन्द्र दाहाल र रामचन्द्र अधिकारीले वितरण गरेका थिए ।