विराटनगर । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले  सौन्दर्यकर्मीहरूको लागि  सुरु भएको लेभल टूको प्रयोगात्मक परीक्षा विवादमा परेको छ । यही फागुन ३ गतेदेखि विराटनगरमा सुरु भएको प्रयोगात्मक परीक्षा विवादमा परेको हो ।

परीक्षा निष्पक्ष हुन नसकेको आरोप लागउँदै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरले सोमबार पत्रकार सम्मेलन गरी परीक्षा केन्द्र सारेर पुनः परीक्षा हुनुपर्ने माग राखेको छ । सौन्दर्यकर्मीहरूको लागि विराटनगर–११ स्थित प्राइम इन्स्टिच्युटमा परीक्षा केन्द्र तोकेर परीक्षा भइरहेको छ । सिटिइभिटीले लिने परीक्षा ३ फागुनदेखि ९ गतेसम्म हुने कार्यतालिका रहेको छ । प्रत्येक दिन १० जना सिट सङ्ख्या तोकिएर परीक्षा लिन सुरु गरिएको छ । दैनिक ८ घण्टासम्म प्रयोगात्मक परीक्षा हुने गरेको छ । पहिलो दिन १० जनाको सिट सङ्ख्यामा तीन जना मात्र परीक्षार्थी आए । दोस्रो दिनको प्रयोगात्मक परीक्षामा ८ जना सामेल भएका थिए । त्यस दिन सामेल भएका परीक्षार्थीहरूमध्ये केहीलाई छुट्टै गोप्य कोठामा राखेर उनीहरूलाई मात्र परीक्षामा उत्तीर्ण गराउने उद्देश्य अनुरूप परीक्षा लिएको सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरपालिकाकी अध्यक्ष भली सुब्बाले बताइन् ।

‘प्रयोगत्मक परीक्षा परीक्षार्थीहरूलाई एकै ठाउँमा राखेर लिनुपर्ने हो । तर, ४ फागुनमा लिएको परीक्षामा परीक्षार्थीहरूबीच विभेद गरिएको पाइएको छ । जुन सरासर गलत अभ्यास हो’–अध्यक्ष सुब्बाले भनिन् । यसअघि पनि प्राइम इन्स्टिच्युटमा भएको परीक्षाहरू निष्पक्ष र व्यवस्थित नभएको युनियनको आरोप छ । अहिले सुरु भएको दोस्रो दिनको प्रयोगत्मक परीक्षामा पनि परीक्षार्थीहरूलाई मूल्याङ्कनकर्ताहरूले प्रयोगात्मक परीक्षा दिने क्रममा क्रस प्रश्न सोधेर अत्याउने गरेको अध्यक्ष सुब्बाले बताइन् ।  ‘भाइबा’ (मौखिक प्रश्न) को क्रममा तपाईं फेल हुनुभयो । तपाईं यसपटक पास हुन सक्नुहुन्न अर्को पटक परीक्षामा आउनू भन्दै परीक्षार्थीहरूलाई हतोत्साहित पारेर मानसिक तनाव पनि दिएको परीक्षार्थीहरूको गुनासो रहेको छ ।

निष्पक्षरूपमा परीक्षा गराउन नसक्ने मूल्याङ्कनकर्ताहरूमाथि छानबिन गरिनुपर्ने र स्वच्छ, मर्यादितरूपमा परीक्षा गराउने वातावरण सिर्जना गर्न नसक्ने परीक्षा केन्द्र खारेज गरिनुपर्ने सौन्दर्यकर्मी युनियनको माग रहेको छ । उनीहरूले मर्यादित र व्यवस्थित रूपमा परीक्षा हुने ठाउँमा परीक्षा केन्द्र तोकेर पुनः परीक्षाका लागि माग गरेका छन् । उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्रीको सचिवालयको दबावमा पाँच जनालाई चलखेल गरेर पास गराउन दबाव दिएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको समेत दाबी गरेका छन् ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेश सचिव कला डाँगीले परीक्षा नै नदिएका व्यक्तिलाई पास गर्नुपर्छ भनेर दबाव दिएको पाइएको बताइन् । दोस्रो तहको परीक्षामा सहभागी भएपछि उनीहरू उत्तीर्ण भएको अवस्थामा प्रशिक्षकको रूपमा उनीहरूको दर्जा कायम हुने भनिएको छ ।  जिफन्ट  कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले सिटिइभिटीले लिने परीक्षा स्वच्छ र निष्पक्षरूपमा हुनुपर्ने बताए । सिटिइभिटीले लिने लेभल टुको परीक्षामा लेभल वान उत्तीर्ण गरेको र ब्युटिसियनको क्षेत्रमा तीन वर्ष अनुभव भएकोले लेभल टुको परीक्षामा सहभागी हुन पाउँछन् । विगतामा प्राक्टिकल,  लिखित र मौखिक हुने गरेको थियो । अहिले प्राक्टिकल र मौखिक मात्र परीक्षा हुने गरेको छ । ८ घण्टाको परीक्षामा १० वटा प्राक्टिकल गरेर मौखिकमा सोधिएका प्रश्न मिलाए उत्तीर्ण हुने गर्दछन् । परीक्षा लिएको तीन महिनापछि सिटिइभिटीले परीक्षाफल प्रकाशित गर्दछ । प्रयोगत्मक परीक्षामा ६५ जना सौन्दर्यकर्मीहरूले परीक्षा दिने फारम भरेका छन् ।

यता परीक्षा गराउन आएका सिटिइभिटीका मूल्याङ्कनकर्ता सुमिना श्रेष्ठले सिटिइभिटीको सिस्टमलाई फलो गरेर प्रयोगात्मक परीक्षा लिएको बताइन् । ‘दोस्रो दिनको परीक्षामा पाँच जना परीक्षार्थीहरूले यसअघि नै प्राक्टिकल पास गरेका थिए । यसअघि प्राक्टिकल पास गरिसकेकाले फेरि परीक्षा दिनु पर्दैन’ उनले भनिन्, ‘त्यसैले गर्दा उनीहरूले परीक्षा नदिइकनै गएका हुन् ।’ प्राइम इन्स्टिच्युटका सञ्चालक नन्दु खवासले सिटिइभिटीबाट आएकाहरूले परीक्षा लिने  र आफूहरूको व्यवस्थापन गर्ने जिम्मेवारी मात्र भएको बताए । ‘हामीले उत्तीर्ण गराउने होइन । जिम्मेवार व्यक्तिले नबुझेर लगाएको आरोप मात्र हो यो’–उनले भने ।