वराहक्षेत्र- ५ स्थित कालाबन्जरमा अवस्थित मुनबिम एकेडेमीले वार्षिक अभिभावक दिवसका अवसरमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार विद्यालयको प्राङ्गणमा विज्ञान प्रदर्शनी, विद्यार्थीको वक्तृता, सन्देशमूलक नाटक, अभिभावकका लागि लक्की ड्रमार्फत गिफ्ट ह्याम्पर, खेलकुदका विभिन्न विधामा उत्कृष्टलाई पुरस्कार वितरणलगायतका कार्यक्रमको आयोजना गरेको हो ।

विद्यालयका प्रधानाध्यापक देवेन्द्रबहादुर विष्टले अभिभावकको मनोरन्जन र विद्यार्थीको प्रतिभा प्रष्फोटनका लागि बर्सेनि अतिरिक्त कृयाकलापका कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा नर्सरीदेखि कक्षा-१२ सम्मका विद्यार्थीले गीत, नृत्य, नाटक र वक्तृता प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक लक्ष्मण कट्वालद्वारा लिखित र निर्देशित 'सन्तानप्रति अभिभावकको दायित्व' नामक सन्देशमूलक लघुनाटक मंचन गरिएको थियो ।

शिक्षक, विद्यार्थी र अभिभावकबीच थप सुमधुर सम्बन्ध स्थापित गर्न आग्रह गर्दै अभिभावक पहलमान बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । अभिभावक दिवसको औपचारिक कार्यक्रमको उद्घाटन कोशी प्रदेशका सांसद विजयकुमार राईले गरेका थिए । कक्षा-१२ सम्म संचालित मुनबिम एकेडेमी वराहक्षेत्रकै प्रतिष्ठित संस्थागत विद्यालय हो ।